नेकपा स्थायी समिति बैठक : पार्टीभित्र गरम, सरकारप्रति नरम !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २, सोमबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

पुस २,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले संयुक्त रुपमा शनिबार पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर छलफल सुरु गरिएको हो ।

छलफलमा भाग लिँदै नेताहरुले दुई पार्टीबीच एकीकरण भएको सात महिना बित्दा पनि पार्टी संगठनहरुको एकीकरणको काम सम्पन्न गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

त्यसैगरी उनीहरुले प्रदेश कमिटीको एकीकरण मापदण्डबिना नै निर्माण गरिएको भन्दै सच्याउन पनि पार्टी नेतृत्वसँग माग गरेका थिए ।

बैठकमा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले आफ्नो लिखित फरक मत पेश गर्नु भएको थियो भने नेताहरु अग्नि सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल, शक्ति बस्नेतसहित १० जना नेताहरुले छलफलमा भाग लिएका थिए ।

नेताहरुले पार्टी एकीकरणपछिको हालसम्मको निर्णय प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका थिए । पार्टी सचिवालय बैठकबाट निर्णय लिने प्रक्रियामा असहमति जनाउँदै नेताहरुले पार्टी स्थायी समिति बैठकबाट हरेक निर्णय लिन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए ।

बैठकमा नेताहरुले हरेक निर्णय पार्टीको स्थायी समितिबाट लिन पनि नेतृत्वलाई सचेत गराएका छन् । यता, सरकारको काम कारबाहीप्रति भने आजको बैठकमा बोल्ने नेताहरु नरम देखिएका थिए । उनीहरुले संघीयतालाई स्थापित गराउन, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन, अर्थतन्त्रलाई सुदृढ बनाउन केन्द्रित भएको भन्दै सरकारप्रति नरम देखिएका हुन् ।

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कामसमेत सरकारले गरिरहेकोमा नेताहरुले सन्तुष्टि जनाएको पनि स्थायी समिति सदस्य भट्टराईले बताए । नेताहरुले पार्टी र सरकारबीच समन्वय नदेखिएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस