नेकपाबाट विद्यासँगै सोमनाथ र राजकाजीको नाम पनि सिफारिस

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक १४, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १४, कास्की । कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि नेकपा गण्डकी प्रदेश कमिटीले ३ जनाको नाम सिफारिस गरेको छ ।

गएको शुक्रबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई मात्र एकल उम्मेदवार सिफारिस गरेको थियो । तर पछि केन्द्रले ३ जनाको नाम मागेपछि प्रदेश कमिटीले विद्या भट्टराईसँगै सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ को नाम पनि सिफारिस गरेको हो ।

केन्द्रबाट नै ३ जनाको नाम मागेपछि वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट गुरुङलाई सिफारिस गरिएको नेकपाका गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए ।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए । करण नेकपा कास्की इन्चार्ज समेत हुन् । प्यासी यसअघिको चुनावमा नेकपाबाट समानुपातिक उम्मेदवारको सूचीमा थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि आउँदो मंसिर १४ गते उपचुनाव हुन लागेको हो ।

कास्की २ मा ७१ हजार आठ सय ७१ मतदाताले मतदान गर्न पाउने उपचुनावका लागि साझा पार्टीले पोखराकी रजनी केसीलाई उम्मेदवार घोषणा गरिसकेको छ । कांग्रेसले भने यसअघि नै १६ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस