दशैँ-तिहारको ऋण तिर्न सुन खोजीमा बोटे समुदाय

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ कार्तिक १६, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, तनहुँ । चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् ।

नेपालीहरुको चाडपर्व दशैँ र तिहार मनाएपश्चात् साहुको ऋण तिर्न करीब एक दर्जन बोटेहरु विभिन्न नदी किनारामा सुन खोज्न लागेका हुन् ।

आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु साहुसँग ऋण काँढेर चाडपर्व मनाउने गर्छन् । त्यसपछि सुन खोजेर ल्याई साहुको ऋण तिर्ने गरेको स्थानीय हर्क बहादुर बोटेले बताए । साहुसँग ऋण लिएर दशैँ र तिहार त मनाइयो तर चाडपर्व मनाउँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ । उनले भने, “ऋण तिर्नको लागि नदी किनारामा सुन खोज्न विभिन्न नदीमा जाने गरेका छौँ ।”

विशेषगरी कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण भेटिने हुँदा उक्त नदी किनारामा सुन खोज्न यहाँका बोटे जाने गरेको जीतबहादुर बोटेले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण कतिपय बोटेको बिहान बेलुका ज्याला मजदूरी नगरी छाक टार्नसमेत गाह्रो छ ।

उनले भने, “त्यसैले चाडपर्वमा ऋण लिएर मनाउने र चाडपर्व मनाइसकिएपछि सुन खोज्नको लागि नदी किनारा धाउन बाध्य भएका छौँ ।”

प्रशस्त मात्रामा खेती गर्ने आफ्नो जमीन नभएपछि जीविकोपार्जनको लागि माछा मार्ने र सुन खोज्नेतर्फ उनीहरु आकर्षित हुँदै गएका छन् । हिउँद महिना शुरुशातसँगै नदीमा पानीको बहाव कमी हुँदा बालुवामा सुन खोज्न सजिलो हुने उनीहरु बताउँछन् ।

नदीमा सुन खोज्नको लागि आवश्यक पर्ने डुँड, पाटी तथा चनौटजस्ता विभिन्न सामग्री घरबाट नै लिएर जाने गरेको जीतबहादुरले बताए । सुन चाल्ने पेशाले जीविकोपार्जनमा सहज भएको उनको भनाइ थियो । परम्परागत रुपमा उनीहरु नदी किनारमा सुन खोज्ने काम गर्दै आएका छन् ।

सुन चाल्न जाँदा उनीहरु नदी किनारामा नै पाल टाँगेर बस्ने र खाना खाने गर्दछन् । सुन चालेर एक महिनामा रु बीस पच्चीस हजारसम्मको सुन सङ्कलन गर्ने गरेको उनीहरु बताउँछन् । पहिला पहिला नदी किनारामा सुन सजिलै पाउने गरेपनि पछिल्लो समय नदीमा सुन पाउन छाडेको जीतबहादुरले बताए । कुमालटारीमा अहिले बोटे समुदायका २६ घर रहेकोमा करीब आधाजसो परिवार अझै पनि सुन खोज्नको लागि अन्यत्रै नदीमा जाने गरेका छन् ।

नदीमा करेन्ट लगाउने, विष हाल्नेलगायतका कार्यले नदीमा माछा पाउन छाडेपछि उनीहरुको पुख्यौली पेशासमेत सङ्कटमा पर्दै गएको छ । पछिल्लो समय नदीमा अवैध गिट्टी बालुवा उत्खनन गर्दा माछासमेत भेटिन छोडेकोले वैकल्पिक पेशाको रुपमा सुन खोज्नेतर्फ लागिएको उनीहरु बताउँछन् ।

धेरै पहिले मादी नदीमा पनि सुनका कण भेटिने गरेको भए पनि पछिल्लो समय भेटिन छाडेपछि यहाँका बोटे टाढाटाढाका नदीमा जान बाध्य भएका छन् ।

सुन खोज्न हिँडेका बोटेहरु करीब तीन/चार महिना पछि मात्रै आफ्नो घरमा फर्कने र सङ्कलन गरी ल्याएको सुन बिक्री गरेर साहुको ऋण तिर्ने गरेको बताइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस