लण्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका क्रममा आज बिहान बेलायती स्थानीय समयअनुसार ९ बजे त्यहाँ पुग्दैछन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनको सम्मानमा बकिङघम प्यालेसमा आजै रात्रिभोज दिने कार्यक्रम रहेको छ । उनको भ्रमणका क्रममा बेलायतभरी प्रदर्शनको तयारी भइरहेको छ । जस अन्तर्गत लण्डनमा र्याली गर्न लागिएको छ भने म्यानचेस्टर, बेलफास्ट, बिर्मिङ्घम र नोटिन्घममा पनि प्रदर्शन गरिँदै छन् ।
बेलायत भ्रमणमा आउनुअघि द सनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले टोरी नेता बोरिस जोहन्सनलाई बेलायतको भावी प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने जनाएका छन् ।
उनले सोमबार नै वेस्टमिनिस्टर आबेको भ्रमण गर्नुका साथै राजकुमार चार्ल्ससँग समेत भेट्नेछन् । त्यसपछि बेलायती महारानीले दिने रात्रिभोजमा उनी सहभागी हुने बीबीसीले जनाएको छ ।