जेठ २७,काठमाडौँ । दशौं हजार प्रदर्शनकारीहरुले हङकङमा चीन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले चीन सरकारद्वारा प्रस्तावित गरिएको सुपुर्दगी सन्धिका विरुद्धमा प्रदर्शन गरेका हुन् । चीन सरकारले कुनै पनि मानिसलाई अपराधिक शंका गरेमा उसलाई हङकङबाट मुख्य भूमि चीन पठाइने प्रस्ताव गरिएको छ ।
हङकङमा आइतबार भएको यो विशाल प्रदर्शन १५ वर्ष यताको सबैभन्दा ठूलो प्रदर्शन रहेको र उनीहरुले आइतबार अपरान्ह चीन सरकारविरुद्ध प्लेकार्ड बोक्दै नाराबाजी गरेको र उनीहरुले हामीले हङकङ चीनलाई सुम्पिने छैनौं भनेको सिएनएनले उल्लेख गरेको छ ।
अप्रिल महिनाको ३ तारिखका दिन हङकङले एउटा विवादास्पद सुपुर्दगी बिल प्रस्ताव गरेको थियो । आलोचकहरुका अनुसार हङकङमा बस्ने चिनियाँ प्रजातन्त्रवादीहरुलाई लक्ष्य गर्दै उनीहरुको राजनीतिक गतिविधिमाथि बन्देज लगाउने उद्देश्यले त्यहाँका व्यापारिक घरानासमेतलाई लक्ष्य गर्दै यस्तो प्रस्ताव ल्याइएको दावी गरिएको छ ।
यो प्रस्ताव गरिएको नयाँ प्रावधानले कानुनी अधिकार तथा मानवअधिकारका सबै पक्षलाई कुल्चिने छ । जुन कुरा सन् १९९७ मा बेलायतबाट हङकङ चीनको नियन्त्रणमा आउनु अगाडि चीन सरकारले बेलायतसँग सम्झौता गरेको थियो ।
त्यस्तै प्रकारका प्रदर्शनहरु अष्ट्रेलियामा पनि आइतबार प्रदर्शन गरिएका छन् । हङकङको राजनीतिक समूह डेमोसिस्टोले एक वक्तव्यमा भनेको छ– ‘चीन सरकारविरुद्ध यस्ता प्रदर्शनहरु विश्वका सबै शहरहरुमा हुनेछन् ।’
यो प्रस्तावित बिललाई लिएर हङकङको व्यापारिक समुदाय समेत असन्तुष्ट रहेकै बेलामा यो राजनीतिक मुद्दा बनेको छ । अप्रिल २९ मा हङकङका २२,८०० निवासीहरुले पहेंलो झन्डा प्रदर्शन गर्दै शान्तिपूर्ण जुलुस निकालेका थिए ।