असार १४,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रत्यासित रुपमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट्ने चाहना व्यक्त गरेका छन् ।
जी–२० सम्मेलनको क्रममा जापानमा रहेका ट्रम्पले ट्वीट गर्दै किमलाई उत्तर र दक्षिण कोरियालाई छुट्टाउने सिमानामा भेट्ने बताएका छन् ।
ट्रम्प जी–२० सम्मेलन सकाएर दक्षिण कारियाको भ्रमणमा जाने कार्यक्रम छ । ट्रम्पको टिप्पणीको उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । वाशिन्टनस्थित ‘सेन्टर अफर नेसनल इन्ट्रेस्ट’मा कोरिया अध्ययनका निर्देशक ह्यारी कजियानिसले ट्रम्पले ट्वीट गरेबाट अमेरिकाको आधिकारिक च्यानलले किमसँग भेटको लागि प्रयास गरिरहेको रुपमा बुझ्नु पर्ने बताए ।
‘ट्रम्पले सार्वजनिक रुपमा आह्वान गरेकाले मेरो विश्वासमा किम ट्रम्पलाई भेट्न आउनेछन् । यस्तो भेटघाटमा महत्वपूर्ण सम्झौताको कुनै सम्भावना त हुदैन तर यसमा दुई पक्षले वार्ता र कुटनीतिप्रतिको प्रतिबद्धता दोहा¥याउने अवसर हुनेछ ,’ कजियानिसले भने ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयको प्रवक्ताले शनिबार रिपोर्टरसँगको कुराकानीमा भने ,‘अहिले कुनै कुरा प्रष्ट भइसकेको छैन । ’
यता ओसाकामा पत्रकारसँगको कुराकानीमा ट्रम्पले आफ्नो ट्वीट प्रष्टिकरणको भावमा भने ,‘यदी उनी त्यहाँ आए र हामीबीच दुई मिनेटमात्रै एक अर्कासँग देखभेट भयो पनि त्यसलाई राम्रै मान्नुपर्छ ।’
ट्रम्पले यस अघि पनि सन् २०१७ नोभेम्बरमा दुई कोरियाको सिमानामा भ्रमण गर्न खोजेका थिए । तर मौसम खराब भएकाले अन्तिम समयमा उनले उक्त योजना परित्याग गर्नुपरेको थियो ।
एजेन्सी