फागुण १०, काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही साताको अन्त्यतिर बाँडफाँड हुने भएको छ । शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने सम्भावना रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको हो ।
महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।
यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । यसमा मागभन्दा ६० गुणा बढी आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो हिसाबले यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट हुनेछ । गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन् ।