जेठ ३,काठमाडौँ । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’
केही दिन अघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो । सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो । बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ ।
त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिंदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका हुन् ।