असार १८, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले क्रिप्टो कारोबार तथा अवैध रुपमा अभौतिक मुद्रा कारोबारमा संलग्न ५२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४, वालिफलस्थित दमकल चोकमा रहेको एक घर भाडामा लिई दर्ता नगरेको तथा शंकास्पद विदेशी भाषामा सञ्चालित कम्पनिको आवरणमा गैरकानुनी कारोबार भइरहेको सूचनाको आधारमा छापा मारेको सिआइबीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूले नेपालका विभिन्न युवतीहरूलाई प्रलोभनमा पारेर डेटिङ एपमार्फत अवैध क्रिप्टो कारोबार गर्दै आएका थिए । ललितपुरको घरबाटै सञ्चालन हुने सो कारोबारको शाखा काठमाडौं महानगरपालिका–१३, चागलस्थित अर्को भाडाको घरबाट समेत सञ्चालन भइरहेको अनुसन्धानमा खुलेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
५२ जना पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक मुख्य अभियुक्तको रूपमा पहिचान भएका छन् । उनीहरू विरुद्ध अभौतिक मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ भने बाँकी ४६ जनाविरुद्ध थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट ७ वटा ल्यापटप, ५४ वटा मोबाइल फोन, र स्रोत खुल्न नसकेको नगद रकम १३ लाख ९९ हजार ९५० रुपैयाँ समेत बरामद गरिएको छ ।