असार १०, धादिङ । धुनिवेशी नगरपालिकाको १७ औँ नगरसभा तथा अधिवेशनले सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यले आर्थिक वर्ष २०८२/८३ को नीति,कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत गरेका हुन् ।
सभाले पास गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र व्यापार सहितको पूर्वाधार निमार्णलाई प्राथमिकता दिइएको छ । यसका साथै कृषि तथा पशुपालन क्षेत्रको विस्तार, एक वडा एक उत्पादन, फलफूल तथा तरकारी खेती प्रबर्धनका साथै जेष्ठ नागरिक सेवा नीति तथा कार्यक्रममा समेटिएको छ ।
सभामा नगर उपप्रमुख सुरज उप्रेतीले पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रुपैयाँको बजेटमध्ये आर्थिक विकास तर्फ ६ करोड १३ लाख, सामाजिक विकास तर्फ ३१ करोड ७१ लाख ३५ हजार ६ सय ८ रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै पूर्वाधार विकास तर्फ ३८ करोड ४२ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ करोड ५२ लाख र कार्यलय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ १७ करोड ४२ लाख बजेट क्षेत्रगत रुपमा प्रस्तुत गरिएको छ ।
नगरले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध गाउँपालिका निर्माणको योजना अघि सारेको जनाएको छ ।
न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको नगर उपप्रमुख उप्रेतीले बताइन् ।