काठमाडौँ । र्यापर मञ्जली तामाङको ‘चेन्ज माइ नेसन’ (Change My Nation) र्याप गीतले अहिले सर्वाधिक चर्चा बटुलिरहेको छ । गायक मकर योञ्जन र सुस्मिता स्याङ्तानको हृदयस्पर्शी आवाज सँगै मञ्जली तामाङ (Lady Rapper) को जोशिलो र शक्तिशाली र्याप ले गीतमा साँच्चै आगो हालिदिएको छ। रिजन बडुको सपोर्ट भोकल र जिवन बडुको कुशल संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङले यस गीतलाई अत्यन्तै व्यावसायिक र श्रोतालाई तान्ने खालको बनाएको छ । विवेक लोप्चनको मर्मस्पर्शी लेखन र संगीतमा तयार भएको यस गीतले नेपाली युवाहरूको आवाजलाई विश्वमञ्चमा बुलन्द गरिरहेको छ। विशेषगरी, अंग्रेजीमा आधारित भए पनि यसमा हिन्दीको ‘टच’ रहनुले यसलाई अझ बढी अन्तर्राष्ट्रिय बनाएको छ, जसले भाषाको सीमा नाघेर व्यापक दर्शकमाझ पुग्न मद्दत पुगेको छ ।
गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावशाली छ। निर्देशक आमिर डोङको सिर्जनात्मक सोच र बलियो कन्सेप्टलाई त्रिलोक लामाको उत्कृष्ट छायांकन र सम्पादनले जीवन्त बनाएको छ । यसले सांगीतिक भिडियोमा एउटा गहिरो र अर्थपूर्ण प्रभाव छोडेको छ । कुइसाङ रुम्बा, मिलन तामाङ, बी२ भाई, जनार्दन नेपाल र वर्षा कार्कीजस्ता अनुभवी अतिथि कलाकारहरूको उपस्थिति ले भिडियोमा थप विविधता र आकर्षण थपेको छ। ‘चेन्ज माइ नेसन’ ले केवल मनोरञ्जन मात्र दिँदैन, यसले देशका ज्वलन्त र गम्भीर समस्याहरूमाथि निर्मम प्रहार गर्छ। भ्रष्टाचार, बेरोजगारी, मानव बेचबिखन, मानव अधिकार हनन, र असफल नेतृत्व जस्ता विषयहरूलाई गीतले साहसिक ढंगले उठाएको छ। गीतका “Degrees face on unemployment” (डिग्री लिएकाहरू बेरोजगारीको सामना गर्दै) र “Voices unheard, endless frustrations” (आवाज नसुनिने, अनन्त निराशा) जस्ता पङ्क्तिहरूले देशको यथार्थ पीडा र युवा वर्गको निराशाजनक सपना दुवैलाई सशक्त रूपमा चित्रण गर्छन्।
यो गीतको पहुँच र सोच अन्तर्राष्ट्रिय स्तरको छ। गीतमा अमेरिकी राष्ट्रपति, किम जोङ उनदेखि युरोप र अफ्रिकाका देशहरूसम्मका सन्दर्भहरू आउँछन्, जसले यसको विश्वव्यापी दृष्टि र सन्देश लाई प्रस्ट पार्छ। मञ्जली तामाङले आफ्नो र्याप मार्फत ‘न्याय’, ‘एकता’ र ‘रूपान्तरण’ को लागि विश्वव्यापी आह्वान गरेकी छिन्। हाल TikTok, YouTube, Instagram लगायतका सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा यस गीतका क्लिपहरू तीव्र गतिमा भाइरल भइरहेका छन्। यसले गीतको अकल्पनीय लोकप्रियता र दर्शकमा यसको गहिरो प्रभावलाई प्रमाणित गर्छ। ‘चेन्ज माइ नेसन’ लाई नेपाली हिपहपमा एउटा नयाँ युगको सुरुवात को रूपमा लिइएको छ, जहाँ युवाहरू निष्क्रिय नबसी परिवर्तनको सशक्त आवाज बनेर उठिरहेका छन्।