जेठ १, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु रकम देखिएको महानगर काठमाडौं हो ।
काठमाडौं महानगरपालिकाको २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । त्यसपछि दोस्रो स्थानमा पोखरा महानगरपालिका रहेको छ, जहाँ १३ अर्ब ४६ करोड ७२ लाख लेखापरीक्षण गर्दा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतिशतका आधारमा हेर्दा पोखराको बेरुजु ३.७४५ देखिएको छ, जुन सबैभन्दा उच्च हो । यद्यपि, यसमा विगतका पालिकाहरू (गाउँ विकास समिति र नगरपालिकाहरू) एकीकृत भएर बनेको पोखरा महानगरको बक्यौता बेरुजुहरू पनि समेटिएका छन्, जसले समग्र रकमलाई उच्च देखाएको हो ।
महानगरपालिका लेखापरीक्षण रकम बेरुजु रकम प्रतिशत (%)
काठमाडौं २७.५२ अर्ब ६८.०२ करोड २.४७ %
पोखरा १३.४६ अर्ब ५०.४३ करोड ३.७४ %
वीरगञ्ज ६.२८ अर्ब २२.७५ करोड ३.६२ %
भरतपुर ११.१३ अर्ब १०.०२ करोड ०.९० %
ललितपुर १०.६८ अर्ब ५.५५ करोड ०.५२ %
विराटनगर ६.४४ अर्ब २.०८ करोड ०.३२ %
पोखरा महानगरपालिका प्रशासन शाखा प्रमुख कृष्ण तिवारीका अनुसार पछिल्ला वर्षहरूमा नयाँ बेरुजुको अनुपात घट्दो क्रममा छ । उनका अनुसार, “विगतका वर्षका बेरुजुहरू अहिलेको लेखापरीक्षणमा समेटिँदा रकम धेरै देखिएको हो । नयाँ आर्थिक वर्षमा बेरुजु न्यूनीकरण हाम्रो पहिलो प्राथमिकता हो ।”
पोखराले पछिल्लो समय इ-गभर्नेन्स प्रणाली, आन्तरिक लेखापरीक्षण संयन्त्र सुदृढीकरण, पारदर्शिता तथा नीतिगत कार्यान्वयनमार्फत खर्चको प्रभावकारिता बढाएको छ । आर्थिक अनुशासन कायम राख्दै महानगरले बजेट कार्यान्वयनको हरेक तहमा निगरानी बढाएको छ ।
यसले देखाउँछ कि बेरुजु रकमको हिसाबले दोस्रो स्थानमा देखिए पनि पोखरा महानगर सक्रिय रूपमा सुधारको बाटोमा अघि बढिरहेको छ । आगामी वर्षहरूमा बेरुजु न्यूनमा झार्ने योजनासहित महानगरको प्रशासन अघि बढिरहेको छ ।