असार २०, काठमाडौं । उपभोक्ता अदालतले विभिन्न अस्पताल र चिकित्सकमाथि गरेको आदेशविरुद्ध नेपाल चिकित्सक संघले आन्दोलन गर्ने भएको छ । संघले आज विभिन्न सरोकारवाला संघ संस्थासंगको छलफलपछि आन्दोलनको कार्यक्रम सार्वजानिक गरेको हो ।
आन्दोलनको तालिकाअनुसार पर्सि २२ गते आइतबार आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने र सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने संघका महासचिव संजिव तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै संघले चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी २४ गते काउन्सिलमै बुझाउने भएको छ ।
उपभोक्ता आदालतले बिरामीको उपचारमा लापरबाही गर्दा ज्यानै गएको सन्दर्भमा विभिन्न ३ वटा अस्पताल र चिकित्सकविरुद्ध जरिवानासहितको फैसला सुनाएपछि संघले विरोध जनाउदै आएको छ ।