नागरिक उन्मुक्ति पार्टी सङ्घ र प्रदेश सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी सङ्घ र प्रदेश सरकारबाट बाहिरिने

असार २०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने बताएका छन् ।

अध्यक्ष रञ्जिताले छलफल नै नगरी सुदूरपश्चिममा आफ्नो पार्टीका मन्त्रीलाई हटाएको भन्दै अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल नहुने र यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त नभएको बताइन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन र्फिता लिने जनाएको हो । सुदूरपश्चिममा मन्त्री चौधरीलाई राजीनामा गर्न दिइएको निर्देशन अवज्ञा गरेपछि मुख्यमन्त्री शाहले हिजो बर्खास्त गरेका थिए ।

बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका आरोपसहित राजीनामा मागिएको थियो ।

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात जना सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शाह अल्पमतमा पर्नेछैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस