असार १, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार प्रदेशसभा बैठकमा कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट पेस गरेका हुन् ।
बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए । उनले कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिईएको जनाएका छन् ।
कुल विनियोजित बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत छ । पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ र वित्तीय व्यवस्थापनमा १० करोड अर्थात् ०.३ प्रतिशत विनियोजन गरिएको छ ।
कोशी प्रदेश सरकारले यो चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ६० करोड रुपैयाँले बजेट बढेको छ । सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख रहेको छ ।
यस्तै समपूरक अनुदानबाट ३९ करोड १७ लाख, विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरण जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख र रोयल्टीबाट प्राप्त हुने रकम ३५ करोड ६ लाख खर्च ६ लाख रुपैयाँ खर्च व्यहोरिने आर्थिक मामिला तथा योजनामन्त्री मगरले जनाए ।
बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।
आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ चार अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ दुई अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै पर्यटन, वन तथा वातावरणतर्फ दुई अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ दुई अर्ब पाँच करोड ५५ लाख, स्वास्थ्यतर्फ तीन अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका निम्ति ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।