असार १, काठमाडौं । पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको एक महिनापछि सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
सानो पाइला सहकारी ठगाीमा लामिछानेसँगै नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरू दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा भैरहवा कारागारमा छन् । बाँकी २७ जना प्रतिवादी भने फरार रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।
सानो पाइला सहकारी ठगीका २९ जना प्रतिवादीबाट १ अर्व ३२ करोड ४६ लाख १२ हजार ४५ पैसा बिगो भराउन माग गरिएको छ । रवि लामिछानेको हकमा सहकारीलाई तिर्नुपर्ने ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ ।
सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ ११ पैसा हिनामिना भएको अभियोग छ । सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए ।
सहकारी रकमको अपचलन भएको १ अर्ब ८५ करोड ५७ लाख ९१ हजार ७२३ रुपैयाँ र सहकारीमा मौज्दात देखिनुपर्ने रकम ४४ करोड ५६ लाख ३८ हजार ७७ रुपैयाँ २९ पैसा बिगो कायम गरिएको छ ।
अन्य डेढ करोड पनि सहकारीलाई तिर्नु पर्ने अभियोग पत्रमा माग गरिएको छ । जाहेरवालालाई तिर्नु पर्ने बिगो रकम छुट्टै छ । जसमा रवि लामिछानेबाट ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
छविलाल जोशीलाई ७ करोड २० लाख ९८ हजार रुपैयाँ बिगो कायम गरिएको छ । यो सानो पाइला सहकारीलाई भराउन पर्ने बाहेक पीडितलाई भराउने बिगो रकम हो । उनीहरुलाई सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजाय माग गरिएको छ ।
यसअघि प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
सानो पाइला सहकारीबाट काठमाडौंमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो ।