जेठ १०,काठमाडौँ । दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाण्डौ, बिरगन्ज र विर्तामोडमा मायोपियासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले सञ्चालन गरेको ’मायोपिया जनचेतना सप्ताह’ (जेठ ५ देखि ११ गतेसम्म) सफलतापूर्वक सम्पन्न भएको छ । साताव्यापी जनचेतनामूलक अभियानमा विभिन्न पेशा, व्यवसाय तथा विभिन्न उमेर समूहका नागरिकको सक्रिय सहभागिता रहेको दृष्टि आई केयर सिस्टमले जानकारी दिएको छ ।
आज बिहान ७ बजे दृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौ, विरंगन्ज र विर्तामोडमा आयोजना भएको मायोपिया जनचेतना ¥यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । मायोपियासम्बन्धी सचेतना र जानकारी व्यापक बनाउन सबै उमेर समूहका नागरिकको सहभागीतामा ¥याली आयोजना गरिएको सिस्टमले बताएको छ ।
मायोपिया जनचेतना सप्ताह अन्तरगत विभिन्न विद्यालयहरूमा स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनुका साथै सयौं बालबालिकाको प्रारम्भिक परीक्षण समेत गरिएको थियो । परीक्षणमा संलग्न विद्यार्थीहरूलाई दृष्टिका सबै शाखाहरूमा निःशुल्क विस्तृत आँखा परीक्षण सेवा प्रदान गरिएको थियो ।
आज अयोजित जनचेतनामूलक ¥यालीलाई सम्बोधन गर्दै दृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले भने “यो अभियान केवल पदयात्रा होइन, यो चेतनाको यात्रा हो, दृष्टिकोण परिवर्तन हो । उनले भविष्यका पुस्ताको दृष्टिलाई सुरक्षित बनाउने सामुहिक संकल्प भएको बताए । नेपाल अप्थाल्मीक सोसाइटीका उपाध्यक्ष डा. रन्जना शर्माले नियमित आँखाको परीक्षण र विशेषज्ञको सल्लाह बमोजिम मायोपियालाई नियन्त्रण गर्न सकिने बताइन्। यसप्रति सामूहिक चेतना आवश्यक रहेको उनको भनाई थियो ।
नेपाल दृष्टि बिशेषज्ञ संघका अध्यक्ष निरज देव जोशीले मायोपिया अर्थात् नजिक देख्ने तर टाढा नदेख्ने समस्या तिब्र गतिमा बढिरहेको र बालबालिकामा यो समस्या धेरै देखिएकाले समयमै यसको नियन्त्रण नगरेमा भविष्यमा दृष्टि गुम्ने खतरा प्रति सचेत गराए । यसैगरी ओए सोसाईटीमा महासचिव रमेश प्रधानले बालबालिकाको नियमित रुपमा हरेक ६ महिनामा एक पटक दृष्टि परिक्षण गरी आँखाको सुरक्षा गर्न आग्रह गर्नुभयो । त्यस्तै, मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपियालाई सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालीन दृष्टि गुमाउने कारणका रूपमा लिन आवश्यक रहेको बताए ।
दृष्टि आई केयरको वेबसाइटमा रहेको मायोपिया जोखिम क्याल्कुलेटरमार्फत सर्वसाधारणले आफ्नो र आफ्ना बालबालिकाको जोखिम स्तर निःशुल्क मूल्याङ्कन गर्न सक्ने समेत कार्यक्रम रहेको छ ।