महाशिलाको नीति तथा कार्यक्रम गुरुङ भाषामा सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ७, बुधबार (५ घण्टा अघि)
  • ४३ पटक पढिएको
महाशिलाको नीति तथा कार्यक्रम गुरुङ भाषामा सार्वजनिक

जेठ ७, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गुरुङ भाषाको खिमा लिपिमा नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजको भाषाको रूपमा प्रयोमा ल्याउने तयारी गरेको अवस्थामा महाशिलाले चालु आर्थिक वर्ष ०८१–८२ को नीति तथा कार्यक्रम गुरुङ भाषा र लिपिमा सार्वजनिक गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नीति तथा कार्यक्रम स्थानीय भाषामा सार्वजनिक गर्ने महाशिला गाउँपालिका पहिलो तह बनेको जानकारी दिए ।

गाउँपालिकाले नेपाली भाषामा नीति तथा कार्यक्रम गत वर्ष सार्वजनिक गरेको थियो । सोही नीति तथा कार्यक्रमलाई अहिले गुरुङ भाषामा प्रकाशन गरिएको हो । गुरुङ भाषाभित्र खिमा लिपिमा नीति तथा कार्यक्रमलाई लिपीबद्ध गरिएको उनले बताए ।

महाशिलाले यसअघि नेपाली भाषामा आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्र, स्वास्थ्य, सामाजिक न्याय, खानेपानी, भौतिक पूर्वाधार, विपत् तथा वातावरण, संस्थागत सेवा प्रवाह र सुशासन क्षेत्रलाई प्राथमिकता दिइ नीति तथा कार्यक्रम ल्याएको थियो ।

यसैगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, खेलकुद तथा मनोरञ्जन, संस्कृति, प्रदेश सरकारसँग सहकार्यलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका थिए । तीनै प्राथमिकताका क्षेत्रलाई अहिले गुरुङ भाषाको खिमा लिपिमा उल्था गरी प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनले आगामी वर्षदेखि दुवै भाषामा एकैसाथ सार्वजनिक गरिने बताए ।

महाशिलाकाका ६ वटै वडामा गुरुङ समुदायको बसोबास रहेको छ । गण्डकी सरकारले सरकारी कामकाजको भाषाका रूपमा गुरुङ र मगर भाषालाई समेट्न विधेयक ल्याउनुअघि गुरुङ र मगर बाहुल्य जिल्लामा पुगी सरोकारवालासँग सुझाव सङ्कलन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस