असार २२, काठमाडौं । कोष प्रवद्र्धकमा ग्लोबल आइएमई बैंक लिमिटेड र योजना व्यवस्थापक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ आजदेखि सार्वजनिक निष्कासनमा आएको छ ।
यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले जम्मा १२ करोड इकाई सार्वजनिक निष्कासनमा आएको हो । जसमध्ये १८ लाख इकाई ग्लोबल आइएमई बैंक र १ करोड ६२ लाख इकाई ग्लोबल आइएमई लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणमा सार्वजनिक निष्कासन गरिएको हो ।
यसमा आवेदकले न्यूनतम १०० इकाई र अधिकतममा १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने छ । निष्कासन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते हुनेछ ।
यस योजनाको निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ३ (३) रेटिङ्ग प्रदान गरेको छ ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै “मेरो शेयर” अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।
यो एक बन्दमुखी प्रकृतिको योजना हो । यो इकाई बाँडफाँडको मितिले १० वर्षपछि परिपक्व हुनेछ त्यसपछि योजनाको लगानीलाई नगदमा परिणत गरेर इकाईधनीहरूलाई समानुपाति हिसाबले बाँडफाँड गरिनेछ ।
क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिशत २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन । यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरिएको छ ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत हालसम्म २ योजनाहरु सञ्चालन भइसकेका छन । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुर्नखरीद प्रतिफल दिएको छ । त्यस्तै, १० वर्ष अवधिको ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को १.०२५ अर्ब कोष आकार रहेको छ ।