असार २२, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन पाँच दिनको समय दिएको छ ।
आइतबार बसेको समिति बैठकले विधेयकको असमति बुँदामा सहमतिका लागि पाँच दिनको समय दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
समितिका सदस्यहरूले आजै शिक्षा विधेयक पारित गर्नुपर्ने अडान लिएका थिए तर शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग छलफल गर्न थप समय माग गरेका थिए । उनले अनिश्चितकालका लागि बैठक स्थगित गर्न माग गरेका थिए तर समिति सभापति थापा र अन्य सदस्यहरू सहमत भएनन् ।
समिति सभापति थापाले शिक्षामन्त्रीलाई भने, ‘सरकारलाई अब अन्तिम समय पाँच दिन दिएका छौँ । यो समयभित्र पहिला भएकै सहमतिअनुसार सहमति गरेर आउनुहोला ।’
समितिले यसअघि शिक्षक पदपूर्ति गर्दा आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत गर्ने गरी सहमति जुटाएको थियो । नेपाल शिक्षक महासंघले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट र २५ प्रतिशत खुलाबाट पदपूर्ति गर्नुपर्ने अडान राखेको छ ।