ट्रम्पसंग रिसाएका एलन मस्कले खोले ‘अमेरिका पार्टी’ !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८२ अषाढ २२, आईतबार (६ घण्टा अघि)
  • ३७ पटक पढिएको
ट्रम्पसंग रिसाएका एलन मस्कले खोले ‘अमेरिका पार्टी’ !

असार २२,काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रिएको केही हप्तापछि उनले यो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा गरेका छन् । यो पार्टीले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिने उनको भनाइ छ ।

तर, यो पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ वा छैन भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । पार्टीको ढाँचा कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्नेबारे पनि मस्कले कुनै जानकारी दिएका छैनन् ।

यो दलले मध्यम वर्गीय अमेरिकीहरूको प्रतिनिधित्व गर्ने उनले भनेका छन् । ‘हामीहरूले रातो देख्यौँ, निलो पनि देख्यौँ । अब अमेरिकामा केही नयाँको लागि तयार हौँ । जसले वास्तवमै काम गर्नेछ, अमेरिका पार्टी अब मध्यम वर्गको पनि आवाज हुनेछ’ पोस्टमा मस्कले लेखेका छन् ।

ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी सुरु गर्ने सम्भावनाको संकेत दिएका थिए । शनिबारसम्म सङ्घीय निर्वाचन आयोगले औपचारिक रूपमा कुनै पनि दल दर्ता गरेको सङ्केत गर्ने जानकारी प्रकाशित गरेको छैन । २०२४ को अमेरिकी राष्ट्रपतिको चुनावमा एलन मस्क ट्रम्पका प्रमुख समर्थक थिए । ट्रम्पलाई जिताउन उनले २५ करोड डलर दान समेत गरेका थिए ।

चुनावी जितपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (डज) अर्थात् सङ्घीय सरकारको खर्च कटौती गर्ने विभागको प्रमुखको रूपमा नियुक्त गरे । यसको काम बजेट कटौती पहिचान गर्नु थियो ।

मे महिनामा ट्रम्प प्रशासन छोडेपछि मस्क र ट्रम्पबिच झगडा सुरु भयो । मस्कले ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनको बिग ब्यूटिफुल विधेयकलाई मस्कले पागलपन समेत भनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस