असार २२, काठमाडौं । बीपी राजमार्गमा आजदेखि थप एक महिना रातिमा सवारी आवागमन बन्द हुने भएको छ । मनसुनको समयमा विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न र यात्रुको सुरक्षाका लागि राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाएको हो । राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले रातमा साढे १० घण्टा गाडी चलाउन रोक लगाएको प्रशासनले जनाएको छ ।
यसअघि गएको असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि रातमा झन्डै १० घण्टा १५ दिनका लागि रोक लगाएको थियो । असार १८ गते बसेको जिल्ला सुरक्षा समिति काभ्रेले एक महिना समय थप गरेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार आजदेखि काठमाण्डौबाट छुटेका गाडी काभ्रेभञ्ज्याङ र काठमाण्डौतर्फ आउनेलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।