असार २२, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आठ समितिको बैठक आज बस्दैछ । बिहान साढे १० बजे बस्ने भनिएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक भने स्थगन गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजेदेखि जारी छ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरिनेछ ।
बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा ऐन कार्यान्वयन मापन विषयमा छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदसित छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
यस्तै बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका निम्ति निर्धारित कोटाका विषयमा छलफल गरिनेछ ।
पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । बैठकमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोसी–मरिन डाइभर्सन आयोजनालगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । बैठकमा समितिको आउँदो कार्यक्रम तथा समसामयिक विषयमा छलफल गरिनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । यी सबै प्रतिनिधिसभाअन्तर्गतका विषयगत समिति हुन् । बैठक दिउँसो १ बजे बस्नेछ ।
यस्तै आज राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ ।