सुनचाँदी पसल ठप्प, व्यवसायीले साताव्यापी आन्दोलन थप सशक्त पार्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २२, आईतबार (९ घण्टा अघि)
  • ७५ पटक पढिएको
सुनचाँदी पसल ठप्प, व्यवसायीले साताव्यापी आन्दोलन थप सशक्त पार्ने

असार २२, काठमाडौं । सुनमा लगाएको विलासी करको विरोधमा सुनचाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले सुनमा विलासी कर र हिरामा भ्याट लगाएपछि सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शन गर्दै आएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ ।

कार्यक्रम अनुसार आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् ।

असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्लारनगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् ।

यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।

सरकारले बजेटमार्फत आर्थिक वर्ष २०८२/८३ देखि सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । व्यवसायीहरुले यी कर खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा व्यवसायी मैत्री ऐन तुरून्त जारी गर्नुपर्ने लगायत माग राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस