असार २२, काठमाडौं । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका-२ हेलौछा घर भएका राजेन्द्र राईले रामप्रसादराई गाँउपालिका-२ को धोर्लेखानीमा श्रीमती, सासूससुरा र सालोको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले ससुरा वेलबहादुर गिरी, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपन गिरीको हत्या गरेका हुन् ।
राईले घरायसी झगडाका क्रममा राति १२:३० तिर ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
राईको पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल भोजपुरमा उनको उपचार भइरहेको जनाइएको छ ।
प्रहरीको टोलीले घटनाको थप अनुसरन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।