जेठ १०, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाएको छ । तीन खर्ब आठ अर्ब रुपैयाँ साँवा र ब्याज भुक्तानीमा खर्च गरेको सरकारले जनाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्षको सुरुवातमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । वैशाख मसान्तसम्ममा एक खर्ब ८८ अर्ब रुपैयाँ थपिएर कूल ऋण २६ खर्ब २२ अर्ब पुगेको हो । वैशाख महिनामा ऋण प्राप्तिभन्दा साँवा भुक्तानी बढी भएकाले कूल ऋण दायित्व अघिल्लो महिनाको तुलनामा घटेको छ ।
सरकारले चालु वर्षमा पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म जम्मा तीन खर्ब ९० अर्ब रुपैयाँ उठाएको छ । आन्तरिक ऋण संकलनमा ९१ प्रतिशत प्रगति भए पनि वैदेशिक ऋण संकलन भने लक्ष्यको ४१ प्रतिशतमा सीमित छ ।