जेठ १०, काठमाडौं । डोल्पामा यार्सा सङ्कलन गर्ने समुहबीच झडप भएको छ । ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका २ समूहबिच आज झडप भएको हो ।
पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरू बिच यार्सागुम्बा सङ्कलनका क्रममा सीमा इलाकाको विषयमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ ।
विवादका क्रममा स्थानीयहरुले ढुंगामुडा प्रहार गर्ने, गाली गलौज गर्ने लगायतका गतिविधि भएको थियो । अन्दाजी ६, ७ सय जनाको सङ्ख्यामा रहेकाहरूबिच झडप भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको समेत उनले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनको भनाई छ ।