वैशाख १८ काठमाडौ । सुभायात्रा यातायात प्रा.लि.ले आफ्नो स्थापनाको सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बिहीबार यातायात क्षेत्रको उत्थान र उत्तरदायित्वमा केन्द्रित रही संस्थाको कार्य समितिमा निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष गोपीकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिपन्न बालबालिकाहरुका लागि सहयोगका साथै उत्कृष्ट मजदुर, कर्मचारी र व्यवसायीलाई पुरस्कृत गर्नुका साथै जेष्ठ नागरिक दिलबहादुर आलेलाई नगदसहित सम्मान गरेको हो ।
साधारणसभामा प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वार, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति प्रदिप बिष्ट, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी यातायात बिभाग बागमती प्रदेश प्रमुख शेखर चन्द्र राई, संस्थाका संरक्षक तथा प्रमुख सल्लाहकार होम प्रसाद अधिकारी लगायत व्यवसायी र मजदुरहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा बोल्दै सुभायात्रा यातायातका अध्यक्ष थापाले आफू यातायात क्षेत्रमा लामो समयदेखि रहेको स्मरण गर्दै धेरै उतारचढावका बीच कलश यातायातबाट सुरु गरेको क्षेत्रमा सुभयात्रा यातायातसम्म आइपुग्दा निकै गौरवमय रहेको बताए । उनले यस क्षेत्रमा भएका कमि कमजोरीहरुलाई सबैको सुझाव सल्लाह लिएर समाधान गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।
उनले यातायातका क्षेत्रमा हुने ट्राफिक कारबाहीप्रति आफू सन्तुष्ट हुन नसकेको र त्यसमा सचेत हुँदै सुधारको आवश्यकता रहेको औंल्याए । उनले यो क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन यातायात मजदुर, व्यवसायी र सरकार सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वारले यातायात क्षेत्रको बिकासको लागि निति , नियम , कानुन र पद्धति लाई मुख्य आधार बनाएर काम गर्नुपर्नेमा जोड दिए । यातायात क्षेत्रमा ठुलो लगानी भएकाले राष्ट्रिय उधोगको रुपमा रहनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सभापति प्रदिप बिष्टले यस क्षेत्रमा लागेकाहरुको एकता नै पहिलो प्राथमिकतामा रहेको र यस क्षेत्रको समस्या समाधानका लागि आफू र आफ्नो पार्टी सधैं तत्पर रहेको बताए ।
नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले यातायात मजदुरहरुलाइ सामाजिक सुरक्षा कोषमा सहभागी गराइ सुरक्षित बनाउनुका साथै बढदै गएको दुर्घटनाको मुख्य कारण पत्ता लगाइ न्यूनीकरणका लागि ठोस योजना ल्याउनु पर्नेमा जोड दिए ।
संस्थाका संरक्षक तथा प्रमुख सल्लाहकार होम प्रसाद अधिकारीले यातायात क्षेत्रमा इभि गाडीको आवश्यकता लाई मध्यनजर गर्दै महासंघले व्यवसायी र मजदुरको हकहितमा कटिबद्ध रहनुपर्नेमा जोड दिए ।
सातौ वार्षिक साधारण सभाले यस अघिकै कार्यसमितिलाई निरन्तरता दिएको छ । जसअनुरुप अध्यक्ष गोपीकृष्ण थापा, सदस्यहरुमा रामकुमार भेटुवाल, नवराज कार्की, रितु थापा खड्का, राजकुमार गौतम, सुधिर खड्का रहेका छन् ।