नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित, आज स्कटल्यान्डसँग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ ६, शुक्रबार (७ घण्टा अघि)
  • ५७ पटक पढिएको
नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित, आज स्कटल्यान्डसँग खेल्ने

असार ६, काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर आरिफ शेखले ३९ रन जोड्दा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका भिम सार्कीले २७ रन बनाए । ​

१९औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरिको स्ट्राइकमा दुई रन लिने क्रममा आरिफ घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि क्रिजमा आएका लोकेश बमले अविजित १२ रन बनाए । दिपेन्द्र १६ रनमा अविनित रहे ।

नेदरल्यान्ड्सका लागि बेन फ्लेचर, आर्यन दत्त, ज्याक लायन कासे र रोयलफ भान डर मेर्वेले समान एक विकेट लिए ।

त्यसअघि स्कटल्यान्डको टिटवुड ग्लासगोमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टोली नेदरल्यान्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । ​

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रनको योगदान गरे । त्यस्तै रोयलफ भान डर मेर्वेले अविजित ३६ रनको पारी खेले । आर्यन दत्तले १७ रन र अलराउन्डर साकिब जुल्फिकरले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यो जितसँगै नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला समेत लियो । नेदरल्याण्ड्ससँग तीन सुपर ओभरपछि हार बेहोरेको थियो । दोस्रो खेलमामा स्कटल्यान्डलाई हराएको थियो ।

नेपालले तीन खेलमा चार अंक जोर्दै नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नेपाल र स्कटल्यान्डले आज सिरिजको अन्तिम खेलमा खेल्नेछन् । स्कटल्यान्डलाई हराए नेपाल शृंखलाको च्याम्पियन बन्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस