असार ५, मकवानपुर । हेटौंडा एकेडेमी विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका खेलाडीलाई खेल सामग्री वितरण गरिएको छ । एकेडेमीमा प्रशिक्षणरत २८ जना खेलाडीका लागि बुधबार बल, जर्सी, नेट, कोन, जुराफ, टिसर्ट लगायतका खेल सामग्री वितरण गरिएको हो ।
एन्फा एकेडेमीका संयोजक अरुणराज सुमार्गी, सहसंयोजक अमृत लुङ्बा, हेटौंडा एकेडेमीका सञ्चालक समिति सदस्य अंकिता सुमार्गीलगायतले खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेका हुन् । एन्फा एकेडेमीका कप्तान सुनिलकुमार सुर्खेतीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।
एन्फा एकेडेमी हेटौंडाका संयोजक अरुणराज सुमार्गीले हेटौंडा एकेडेमीमा १३ वर्ष मुनीका ५० जना विद्यार्थी भर्ना गर्न अनुमति प्राप्त भएको जानकारी दिए । ‘हामी आफैंले पनि प्रशिक्षकको व्यवस्था गरेर प्रशिक्षण गराइरहेका छौं’, उनले भने, ‘शिक्षासँगै खेलकुदलाई पनि अघि लैजाने अवसर प्राप्त भएकोमा खुसी छौं ।’ सुमार्गी खेलाडीहरुलाई खेलसँगै पढाईलाई पनि ध्यान दिन अनुरोध गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीसहित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । अघिल्लो वर्षको बाढीपहिरोका कारण सिस्नेरीको बत्सलादेवी माविबाट एन्फा एकेडेमी सारेर हेटौंडा एकेडेमीमा ल्याइएको छ । यहाँ विभिन्न जिल्लाबाट युवा फुटबल खेलाडी आएर प्रशिक्षणसँगै अध्ययन समेत गरिरहेका छन् ।