असार ५, काठमाडौं । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरूलाई लक्षित गरी आयोजना गरेको क्षमता अभिवृद्धि तालिम कुमारी पार्क, बोडेमा सम्पन्न भएको छ । तालिमको समापन समारोहमा सहभागी ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समारोहमा बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य, वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले सहभागीलाइ प्रमाणपत्र वितरण गरेका थिए ।
तालिममार्फत डोला र बोटा बनाउने, लप्ते (नेवाः भोजमा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने सीपहरू प्रदान गरिएको थियो । समूहकी अध्यक्ष शिला सायमिका अनुसार, “जेष्ठ नागरिकलाई घरमा छोराबुहारी र नातीहरूमा मात्र निर्भर नहुन दिई, आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।”
शिला सायमिका अनुसार ३२ जनालाई लप्ते सिलाई तालिम, २० जनालाई सुकुल बुन्ने तालिम तथा १० जनालाई दुवै तालिम दिइएको थियो । तालिममा ६० वर्षदेखि ९८ वर्षसम्मका जेष्ठ नागरिक सहभागी थिए ।
प्रशिक्षकहरूमा ललितपुर थसिस्थित सुजाता महर्जन (सुकुल), काठमाडौंकी पटनादेवी रञ्जित (लप्ते) रहेका थिए । तालिम वैशाख ७ गते उद्घाटन भई जेठ ३० गते सम्पन्न भएको हो । कार्यक्रममा समूहकी संस्थापक सदस्य प्रमिला बज्राचार्यलाई दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरिएको थियो ।
न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचः विगत १० वर्षदेखि वृद्धवृद्धाहरूलाई दिवा हेरचाह सेवा प्रदान गर्दै आएको छ । संयुक्त परिवारमा भए पनि कामकाजी व्यस्तताका कारण जेष्ठ नागरिक घरमै एक्लिने अवस्था रहेकाले, समूहले कथा सुनाउने, कुराकानी गर्ने र घुमाउने जस्ता सामाजिक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमको समापनमा समूहले “जेष्ठ नागरिक सामुदायिक भवन” निर्माणको अभियान घोषणा गर्दै, प्रत्येक व्यक्तिबाट रु. १०० सहयोग संकलन गर्ने ‘रु. १०० अभियान’ आरम्भ गरेको छ ।