रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ४, बुधबार (३ घण्टा अघि)
  • ५४ पटक पढिएको
रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

असार ४, रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व सार्वजनिक भएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्यकोषमा दाखिला भइसकेको हो ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए ।

उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका हुन् ।

सवारीसाधन आयातका लागि सङ्घीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको बताए ।

सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस