असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष काठमाडौँ तराई मधेस द्रुतमार्ग सुरु विन्दु डुकुछापमा सार्नेसहितको आदिवासी जनजाति आयोगले प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीसमक्ष आदिवासी जनजाति आयोगले द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको हो ।
द्रुतमार्गको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम छ ।
आदिवासी नेवार समुदायको विस्थापनको जोखिम निम्त्याएको तथा स्थानीयबासीको मानव अधिकारको उलङ्घन भएको र बागमती नदी सफाइ सुधार आयोजनाको कार्यान्वयनबारे संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयअन्तर्गतको कार्य समूह र विशेष र्यापोर्टरबाट व्यक्त चासोका सम्बन्धमा नेपाल सरकारले पठाउनुपर्ने जवाफको कार्यमा सघाउन आयोगले प्रतिवेदन दिएको बताएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले आयोगलाई सुझाव प्रतिवेदन दिन आग्रह गरेको थियो ।
प्रतिवेदनमा खोकना क्षेत्र नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले डुकुछापमा स्थानान्तरण गर्न उपयुक्त हुने उल्लेख गरिएको छ ।