असार १, जनकपुर । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ४७ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा आइतबार अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट पेस गरेका हुन् ।
जसमध्ये चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब दश करोड छुट्याएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब ८८ करोड ७१ लख ८५ हजार बजेट विनियोजन गरेको छ । स्वास्थ्य तथा शिक्षा मन्त्रालयतर्फ ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन भएको छ ।
यसैगरी ऊर्जा सिचाइ तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार, शिक्षा तथा संस्कृति मन्त्रालयमा ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार, उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालयमा ३ अर्ब ८ करोड ७१ लख ७४ हजार, वन तथा वातावरण मन्त्रालयलाई २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लागि २ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गृह मन्त्रालयमा ६४ करोड ८९ लाख ९७ हजार, श्रम तथा यातायात मन्त्रालयमा ५७ करोड १४ लाख ५० हजार र खेलकुद मन्त्रालयमा १ अर्ब ६८ करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा बजेटमा पूर्वाधार विस्तार, गुणस्तरीय सेवा प्रवाह र रोजगारी सिर्जनालाई प्राथमिमता दिइएको छ । साथै उद्योगहरू प्रवर्द्धन गर्ने, उद्यमशीलता विकासमार्फत गरिबी न्यूनीकरण गर्ने तथा सार्वजनिक सम्पत्ति र स्रोतहरूको प्रभावकारी र परिमाणमुखी उद्योगमा केन्द्रित हुने जनाएको छ ।