असार ६, काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो ।
स्वार्थ गाँसिएका पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलले आफ्नो कम्पनीका नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि कँडेलबाट मेयर बस्नेतले नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको देखिन आएको अदालतको ठहर छ ।
मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन् । गैरकानुनी रुपमा घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा धारण गरी जग्गाहरू कित्ताकाट गरी विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री वितरण गरेको एवं हक हस्तान्तरण गरेको देखिएको फैसलामा उल्लेख छ । यसबापत १३ करोड १२ लाख ७३ हजार बिगोबराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको फैसलामा छ ।
दुवै मुद्दामा बाँकी प्रतिवादी सबैले सफाइ पाएका छन् । ठहर भएका मेयर र कँडेलका हकमा सजाय निर्धारणका लागि सुनुवाई गर्न यही १६ गते पेसी तोकिएको छ ।
अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दावी गरेको थियो ।
त्यस्तै, भ्रष्टाचार गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दावी गरिएको थियो । अदालतले भ्रष्टाचार मुद्दामा मेयर र कँडेल दुवैलाई अख्तियारको दावीबमोजिम नै ठहर गरेको छ । सम्पत्ति शुद्धीकरणमा भने मेयर बस्नेतलाई मात्र ठहर गरेको हो । दोषी ठहर भएसँगै उनी मेयरबाट पदमुक्त भएका छन् ।