असार २०, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको नेक इग्नियमको तेश्रो संस्करण भब्यताका साथ सम्पन्न भएको छ । इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको नविनतम सोच, सुचना प्रविधि र इन्जिनियरिङ विधालाई उजागर गर्ने उद्देश्यले आयोजित इग्नियमको यो वर्षको संस्करण विगतको भन्दा पृथक र भब्य भएको हो ।
तीन दिनसम्म सञ्चालित कार्यक्रममा कलेजका विद्यार्थीहरुले आफुले प्राप्त गरेको ज्ञान, सीप र कलालाई प्रस्तुत गर्नुका साथै अन्य कलेजहरुले समेत उत्साजनक सहभागीता जनाएको नेक इग्नियमका संयोजक सहायक प्राध्यापक विश्वदिप मैनालीले बताए ।
‘विगतको इग्नियम भन्दा यस पटकको इग्नियम पृथक र भब्य भयो । कार्यक्रमले नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गरेका विद्यार्थीहरुको सूचना प्रविधि र इन्जिनियरिङको ज्ञान, सीप र कला तथा आइडियाहरुलाई उजागर गर्न सफल भएको छ’, मैनालीले भने ।
नेक इग्नियमको उद्घाटन भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले गरेका थिए । सो अवसरमा उनले विद्यार्थीमा निहित प्रतिभा तथा इन्जिनियरिङ क्षेत्रका नवप्रवर्द्धन ज्ञान, सीप र कलालाई उजागर गर्न टेवा मिल्ने बताए ।
नेक इग्नियममा ओपन साइन्स प्रतिष्पर्धा अन्तर्गत एभटोनोमसले विजयी हुँदै नगद ३० हजार प्राप्त गर्यो । एकीकृत कृषि प्रणाली उपविजेता भयो । रोवर्ट तर्फ टीम आर्क वान विजयी हुँदा रोवो कर्टेक्स उपविजेता भयो । पप्सिकल ब्रीजमा आयुष श्रेष्ठको टीम विजयी हुँदा उर्गेन तामाङको टोली उपविजेता भयो ।
यस्तै, नवप्रवर्तनात्मक पूर्वाधार चुनौतीतर्फ ट्युनड लिक्विड कलम ड्याम्पर टीम विजयी भयो । प्रतियोगिताको उपविजेता भने काठमाडौं उपत्यकामा भूमिगत रिचार्ज प्रणाली भयो । वन वर्ल्ड, वन सोलुसन तर्फ आर्या पोखरेलको कम्प्युटर समूह विजयी हुँदा सुरज प्रजापति उपविजेता भए । पोस्टर डिजाइन प्रतियोगितामा विवेक बसुकला (रथको पाङ्ग्रा–मछिन्द्रनाथ) विजयी हुँदा उपविजेता भने निर्वाण साउद (आधुनिकीकरण) भए ।
यता, ह्याकाथन तर्फ कोड रश विजयी हुँदा टीम रकेट उपविजेता भयो । मोडेल प्रदर्शनीमा विवेक बसुकला विजयी हुँदा उपविजेता क्लस्टर डिजाइन टीम भएको छ । टेक एक्स तर्फ अप्टिमल सोलार पावर ग्रिडको टीम विजयी हुँदा स्काडा उपविजेता भयो ।
प्रतियोगिताका विजेता उपविजेताहरुलाई कलेज सञ्चालक समिति सदस्य, शिक्षक प्रतिनिधि प्राध्यापक सावित्री त्रिपाठी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् ।
नेक इग्नियमको पहिलो दिन मंगलबार ह्याकाथन भएको थियो । दोश्रो दिन बुधबार सहकार्य र एकीकृत नवप्रवर्तनलाई प्रोत्साहन गर्ने ‘एक विश्व एक समाधान’ शीर्षकको आन्तरिक कार्यक्रम भएको थियो । अन्तिम दिनको प्रतियोगात्मक प्रदर्शनीमा इन्जिनियरिङ कलेज तथा प्लस टू साइन्स कलेजका विद्यार्थीहरु अध्ययन अवलोकन गरेका थिए । भने, प्रदर्शनीमा विभिन्न उद्योगहरुबाट समेत स्टल राखिएको थियो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेक इग्नियमले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्न तथा उनीहरुको क्षमता अभिबृद्धि गर्न र एक अर्कामा ज्ञान बाँड्ने काम गरेको बताउँदै आउँदा दिनहरुमा इग्नियमलाई अझ बृहद् बनाउँदै लैजाने बताए ।
नेक इग्नियमलाई बृहद् बनाउन प्रचारप्रसारका लागि कलेजका विद्यार्थीहरूले राजधानीका विभिन्न कलेजहरूमा आकर्षक फ्ल्यास मोब प्रदर्शन गरेका थिए । थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङ, ललितपुर इन्जिनियरिङ, एनसिआइटी, एभरेष्ट इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ, शगरमाथा इन्जिनियरिङ कलेजहरुमा गएर फ्ल्यास मोब गरिएको थियो ।