पर्साको शान्ति सुरक्षामा सुधार, मानव बेचबिखन र तस्करीमा कमि

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १०, मंगलबार (४ घण्टा अघि)
  • ९५ पटक पढिएको
पर्साको शान्ति सुरक्षामा सुधार, मानव बेचबिखन र तस्करीमा कमि

असार १०, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ महिनाको अवधिमा ३२ करोडभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ । पर्सा प्रहरीले ६ महिनामा ३२ करोड ८ लाख ५६ हजार ३४२ रुपियाँ बराबरको प्रतिबन्धित सामग्री भन्सार कार्यालय वीरगञ्जमा बुझाएको जनाएको छ ।

सिमानाकामा हुने तस्करी र लागुऔषध ओसारपसारमा कडाई गरेको छ । पर्सा प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेकाहरूलाई पनि पक्राउ गरेर कानूनअनुसार कारबाही अगाडि बढाइएको पर्सा प्रहरीका प्रमुख (एसपी) गौतम मिश्रले बताए ।

२०८१ साल माघ १० गतेदेखि असार ७ गतेसम्म ३२ करोड ८ लाख ५६ हजार ३ सय ४२ रुपियाँ बराबरको अवैध सामानसहित ३४ वटा सवारीसाधन नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको एसपी मिश्रले बताए ।

भन्सार छलेर भारतबाट नेपाल भित्रिएका खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगञ्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्रभन्दा बढी भन्सार छलेर लुकाईछिपाई लगिरहेका ट्रकहरूबाट अवैध सामान बरामद भएका छन् ।

प्रतिबन्धित लागुऔषध गाँजा ५१६ किलो ७५० ग्राम तथा बिभिन्न स्थानबाट मानिस समेत पक्राउ गरिएको छ । चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम १ केजी ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र कोडीवेल ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ५६ जनालाई पक्राउ गरि लागुऔषध कसूरमा ३५ वटा मुद्दा दर्ता भएका छन् ।

पर्सा प्रहरीले २९ लाख ९० हजार रुपियाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ६ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको छ । हुण्डीको रकम र मानिसहरूलाई राजश्व अनुसन्धान कार्यालयमा कारबाहीका लागि पठाइएको एसपी मिश्रले बताए । पक्राउ परेका ६ जनालाई पर्सा प्रहरीबाट वित्तीय कारोबार कसूर ऐनअनुसार मुद्दा चलाइएको छ ।

२०८१ फागुन ७ गते काम गर्न जान्छु भनेर घरबाट निस्किएका वीरगञ्ज वडा नं. २७ उदयपुर, घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मीको शव फागुन ११ गते भेडैया खोलामा फेला परेको थियो । अनुसन्धानका क्रममा फागुन ७ गते करिब साढे ११ बजे छिमेकी साथीहरूसँग तास खेल्ने क्रममा पैसाको विवाद भएपछि स्थानीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा इशालको हत्या गरी खोलामा फालेको घटना खुलेको थियो । अपराधमा संलग्नहरू पुर्पक्षमा कारागारमा छन् ।

पर्साको ग्रामीण भेगमा २५ कठ्ठा जग्गामा विभिन्न व्यक्तिले लगाएको गाँजा फडानी भएको छ । गाँजाका २ लाख ३२ हजार ६ सय बोट नष्ट गरेको प्रहरीले जनाएको छ । पर्सामा १ कठ्ठामा लगाएको अफिमको ५ हजार बोटहरू पनि नष्ट गरिएको छ ।

फैसला कार्यान्वयनलाई तीव्रता दिँदै पर्सा प्रहरीले कुल १०२७ प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुबाट ४१ वर्ष १० महिना १० दिनको कैद सजाय असुल गरिएको छ । जरिवाना बापत १ करोड २२ लाख ७५ हजार २२८ रुपियाँ असुली गर्न प्रहरी सफल भएको छ ।

मानव बेचबिखनमा ११ वटा मुद्दा दर्ता गरि १७ जनालाई कानूनी कार्यबाही गरि पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्जमा पठाएको एसपी मिश्रले बताए ।

२९ जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

एसपी मिश्रले पर्सा प्रहरीको जिम्मेवारी माघ १० गते सम्हालेका थिए । उनले नेतृत्व सम्हालेपछि छिटफुट घटना बाहेक पर्साको शान्ति सुरक्षामा निकै सुधार भएको स्थानीयले बताउने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस