असार ९, काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामाले सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले सोमबार उनलाई सफाइ दिने फैसला गरेको हो ।
लामालाई विशेष अदालतले सम्पति सुद्धीकरण मुद्दामा २०७५ साउन २४ मा दोषी ठहर गरी एक वर्ष कैदका साथै जरिवाना गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । साथै, उनलाई कम सजाय भएको भन्दै सरकारपक्षले पनि सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो ।
विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै सफाई दिएको हो ।
५ जेठ २०७० मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहित पाँचजनाविरुद्ध गुन्डागर्दीबाट अकुत आर्जन गरेको अभियोगमा मुद्दा चलाएको थियो । लामाविरुद्ध २७ करोड एक लाख रुपैयाँको बिगो दाबी गरिएको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गर्दै उनलाई १ वर्ष कैद र अवैध ठहर गरेको रकम बराबरको जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्न फैसला गरेको थियो ।