असार १८, काठमाडौं । नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रा।लि।’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ ले कोरियन प्रविधिमा आधारित अत्याधुनिक एस्थेटिक्स सेवा प्रदान गर्दै आएको यस क्लिनिकमा अब बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले अनुहार तथा छालाको उपचार, बोटोक्स, फिलर, लेजर उपचार, स्किन ह्वाइटनिङ, हाइड्राफेसियल, एंटी-एजिङ आदि सेवाहरुमा ८ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र ‘लेट मि इन प्रा.लि.’का प्रबन्ध निर्देशक श्री डोङ्ग सु माबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
यस सहकार्यबाट ग्राहक तथा कर्मचारी सन्तुष्टिमा वृद्धि हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् । विशेषगरी स्वास्थ्य र सौन्दर्यप्रति बढ्दो सचेतनाका बीच यस प्रकारको सहकार्यले निजी तथा पेशागत जीवनमा आत्मविश्वास र आत्मसन्तुष्टि जगाउने अपेक्षा गरिएको छ ।
बैंकले आफ्ना कर्मचारी र ग्राहकहरूको हितका लागि समयानुकूल विभिन्न सेवा साझेदारी विस्तार गरिरहेको सन्दर्भमा, यो सम्झौतालाई एक सकारात्मक कदमको रूपमा समेत हेरिएको छ ।
लेट मि इन प्रा.लि.ले स्वास्थ्य र सौन्दर्य सेवामा अन्तर्राष्ट्रिय स्तरको सेवा नेपालमै उपलब्ध गराउने उद्देश्य राखेको बताएको छ । सौन्दर्यमा सजग र सचेत समाज निर्माणका लागि यस प्रकारका सहकार्यहरू समयानुकूल र प्रेरणादायक बन्ने बैंकको विश्वास रहेको छ ।
बैंक र लेट मि इन प्रा.लि.बीचको यो सहकार्यले सौन्दर्य उपचार क्षेत्रको व्यावसायिकता र सेवाको दायरा विस्तार गर्ने मात्र नभई ग्राहकप्रति उत्तरदायित्व निर्वाह गर्ने उदाहरणीय कदमका रूपमा पनि स्थापित हुने विश्वास गरिएको छ ।