मूलकोट हुँदै सेल्फीडाँडासम्म…….

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ फागुन ५, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

-राजेन्द्रमान डंगोल                                                       

कस्तो संयोग !

एकैचोटि पो भयो– मूलकोटको ताज रिभरसाइड रिसोर्ट पुग्नु र दिन ढल्नु । काठमाडौँदेखि धुलिखेलसम्म मात्र हो सवारी साधनको चाप । त्यसपछि त कहीँकतै रोकिनु पर्दैन धुलिखेल–बर्दिबास खण्डमा । जापानले बनाइदिएको चिल्लो सडकमा जापानिज चिल्लो हायस । ख्याल मज्जा आएन कालोपत्रे सडकमा सरर्र गुड्दा ।

आँखामै एकाएक स्पर्श गर्न आएका थिए सौन्दर्यमय प्रकृति । डाँडाकाँडा र पाखापखेरामा ठोक्किएका मेरा नजरलाई फ्याकेँथे रोशी खोलामा । फेरि सुनकोशीमा डुबाएको चिसो नजर उतारेर तोरी फुलेका फाँटहरूमा डुलाएथेँ । नदीमा उर्लिएका छाल, सेता बगर, खेतबारीमा चल्मलाएको मानव आकृति र गोधूलीमा चराहरू गुँड फर्कंदै गरेका दृश्यहरू । आहा ! आँखाले यावत् सौन्दर्यको रसपान गर्दा गर्दै पन्चान्नब्बे किलोमिटर पार भइसकेछ । म त छक्कै परेँ ।

समय बितेको पत्तो नै कहाँ हुँदोरहेछ र नयनाभिराम दृश्यमा रमाउन थालेपछि ! प्रकृतिसित आँखा जुधाएर अघाइनँ म ।

मैले सुनेको थिएँ– मनमात्र होइन, मान्छेको आँखा पनि लोभी र भोगी हुन्छ रे ।’

साँच्चै हो रहेछ ।

ब्यानरमा ‘टुरिजम फ्याम ट्रिप– २०२१’ लेखिएका गाडीहरूले मूलकोट पुगेर आराम पाइसकेका थिए । यद्यपि फ्याम ट्रिपको लागि आइरहेछु भन्ने थाहा थियो तर कुनकुन ठाउँ विशेषको हो भन्नेमा चाहिँ अनभिज्ञ थिएँ म । मित्र बोधराज भण्डारीले हुटहुटी जगाएर पो सहभागी भएको थिएँ त !
“यहीँ हो आजको बसाइँ ।”

अगाडिको सिटमा बसेका जनार्दन अर्याल बोले ।

त्यसो त सोह्रखुट्टेबाट गाडी छुटेदेखि नै बोलेका बोल्यै थिएँ उनी । क्यामेराम्यान हुन्, यहाँसम्म आइपुग्दा फोटो चाहिँ कति खिचे कुन्नि उनले ! जिब्रो चाहिँ मनग्य फड्कारेका थिए । ट्वाक्क नुन–पिरो मिलेको गोलभेँडाको चटनीजस्तै लाग्छ उनले बोलेका शब्द । यस्तै रमाइलो मान्छे मनपर्छ आफूलाई । उनकै कारणले पनि गाडीको यात्रा रमाइलो भएको थियो ।

उसोे त राम महर्जन, सङ्गीता भट्टराई र वर्षा सिवाकोटीले खेलेको अन्ताक्षरीले पनि कम रोमाञ्चक बनाएको थिएन यात्रालाई । कानमा गुञ्जायमान थियो उनीहरूको सुरिलो आवाज ।

“ल मेरो पछिपछि आउनू !”

गाडीबाट ओर्लेर अघि लागे जनार्दनजी । पर्यटन व्यवसायी र पत्रकार गरी पन्ध्र जना सवार थियौँ हामी चढेको सवारीमा ।

उनकै पाइला पछ्याउँदै ताज रिसोर्ट प्रवेश गर्‍यौँ हामी ।

रिसोर्टको प्रवेशद्वार अघिल्तिर सजाइएको छ– कलात्मक ढुङ्गेधारा । ढुङ्गेधारा– मौलिक सभ्यताको पहिचान । ढुङ्गेधारा– इतिहासको प्रतीक । ढुङ्गेधारा– कला र संस्कृतिको परिचायक । भनिन्छ– पहिलो प्रभाव नै अन्तिम छाप हो । गाउँघरकै पँधेरोको र गाउँले परिवेशको आभास दिन्छ दुई थान धाराको नादले ।

स्वागत कक्षसँगै छ– रेस्टुरेन्ट । अर्कोपट्टि छ– बार । त्योभन्दा भित्र दायाँ र बायाँ छन्– अतिथि गृह । बीचभागमा छ– पानीको फोहरा र तल्लोपट्टि छ– स्विमिङ पूल । अतिथिका लागि थप नयनोत्सव हुन् रिसोर्टभित्रका मानव निर्मित संरचनाहरू ।

शान्त वातावरण, चिटिक्क पारिएका लेन सजावटले रिसोर्टभित्रको वाटिकालाई आकर्षक बनाएको छ । पुष्प वृक्षहरूले वसन्त पर्खिरहेका भएपनि सुवास छरिरहेको छ– बेगमकलीले ।

बेगमकलीकै जस्तो मुस्कान फिँजाइरहेका छन्– रिसोर्टका आतिथ्यकारी कर्माचारीहरूले । आतिथ्य र मुस्कानमा नै छ नेपालीको परिचय । फेरि आतिथ्य र मुस्कानमा नै चल्छ पर्यटन व्यवसाय । खाने र बस्ने सुविधा राम्रो हुनुपर्छ । हंसमुख, अतिथिमैत्री र सहयोगी कर्मचारी हुनुपर्छ । वस्, यति भए काफी हुन्छ दुईदिने पाहुनालाई । एकपटक आएर बसेका मान्छे अर्कोपटक जाँदैनन् अन्त कहीँ ।

हामीभन्दा अगाडि आइपुगेका सहभागीहरू छरिइसकेका थिए ताज रिसोर्टको उद्यानमा । कम्तीमा पनि साठी जना थिए होलान् सहभागी ।

त्यो भीडमा अचानक मलाई देख्दा चकित परे गोविन्द पन्त ।

आफू त परियो मित्र बोधराज भण्डारीको सद्भावले पुगेको मान्छे । को–कसको सहभागिता हुँदै थियो, म के जानूँ ! फ्याम ट्रिपका लागि प्रस्थान गर्नुअघि खिचेको तस्वीरलाई उनले फेसबुकमा पोस्ट्याएपछि थाहा पाएथेँ, उनको पनि सहभागिता रहेछ भनेर ।

सोचेँ– ‘मित्रलाई सरप्राइज त दिनैपर्‍यो ।’

तत्कालै फोन गरेर आफ्नो सहभागिताको बारेमा नबताई पर्सिको दिन ठमेलमा कफी पिउने गरी भेट्ने निधो गरेथेँ । अचानक त्यो ठाउँमा देखाभेट भएपछि किन नपर्नू त अचम्ममा ! यस्तो खालको ठट्टा–मस्करी चलिरहन्छ हामीबीच ।

सुनकोशीकै किनार नजिक छ– ताज रिसोर्ट । त्यसैले त सुनिन्छ सुनकोशीले गाएको सुमधुर गीत । सुनकोशीले छुट्टयाएको छ– सिन्धुली र रामेछापको भूगोललाई । प्रकृतिको क्रीडास्थलमा क्रीडाकै लागि आइपुगेका छौँ हामी पर्यटन व्यवसायी आफैँ पर्यटक बनेर ।

राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा गरिने चलखेलको विज्ञान हो– पर्यटन । फुर्सदको क्षणलाई आनन्द लिनका लागि गरिने क्रियाकलाप हो– पर्यटन । अतिथि सत्कार उद्योग हो– पर्यटन । मापन नै गर्न नसकिने विशालता भएको प्रदूषणरहित क्षेत्र हो– पर्यटन ।

“कसको हो यो लगानी ?” कोठातिर जाँदै गर्दा जनार्दनजीलाई सोधेथेँ । उनै त थिए मेरो रुम पार्टनर । जिज्ञासा राख्न उनीबाहेक कोही पाइनँ मैले ।

“थाहा छैन र ? बोधराज लगायतका व्यवसायीहरूकै त हो नि ! नवराज दाहाल, तेज गर्जामगर, श्याम कँडेल र केही स्थानीय पनि छन् । काठमाडौँमा कमाएको यहाँ लगानी गरेका छन् । फ्याम ट्रिप गराउनुको उद्देश्य तिमीहरूलाई यही रिसोर्ट चिनाउनका लागि हो । व्यवसाय प्रवद्र्धनको कुरा जो छ ।” जवाफ आउँछ उनको ।

व्यवसाय जसले गरेको भए पनि हामीजस्ता व्यवसायीले थाहा पाउनु त पर्‍यो नि ! त्यसमाथि आफ्नै साथीहरूले गरेका रहेछन् । खुसी लाग्यो मलाई ।

आफूले पनि कुनै वेला रिसोर्ट चलाउने हुटहुटीले नुवाकोटमा लगानी गरियो । पूर्वाधार तयार गर्दा गर्दै साझेदारहरूसँग कुरा मिलेन । काम गर्ने तौरतरिका र शैली नमिलेपछि बीचैमा छाडेको थिएँ । बाँकीले काम अगाडि बढाउँदै थिए । बीचमा अरू एक–दुईजनाले पनि छाडेछन् । बनेका सबै पूर्वाधारलाई बहत्तर सालको भूकम्पले तहसनहस पार्‍यो । अन्ततः उनीहरूको पनि रिसोर्टको मालिक बन्ने सपना तुहियो ।

साझेदारहरू नै दश जना थिए । धेरै साझेदार भएपछि धेरै बिचार आउँदोरहेछ । धेरै थरी बिचारलाई मन्थन गर्न नसकेपछि स्वतः विचलन आउँदोरहेछ । त्यसैको परिणाम थियो त्योे । जीवनकै सबैभन्दा तितो विगतको रूपमा लिन्छु म यसलाई । यादको ठुटो सल्काउँदै गर्दा मेरैजस्तो नियति ताज रिसोर्टका साझेदारहरूले भोग्नु नपरोस् भन्ने कामना गरेँ मैले ।

पेटले भोकको सञ्चार गरेकै बेला स्न्याक्स तयार भएको खबर आयो । झोलालाई कोठामा फ्यात्त फालेर लाग्यौँ डाइनिङतर्फ ।

सामेल भइयो जलपानमा ।

डाइनिङमा भेटिए– वर्षदिनदेखि भेट नभएका ध्रुब सिंखडा, नवराज दाहाल, बोधराज भण्डारी, लेखनाथ भण्डारी, हरिकुमार श्रेष्ठ र नवराज पाण्डेलगायतका साथीहरू । समानता छ हामीबीचमा । जीवनमा हामीले भोगेको सुख र दुःख उस्तैउस्तै । उनीहरूको सेतिँदै गएका कपालका त्यान्द्राहरू मेरैजस्तै । र, गालामा कोरिन थालेका ग्राफजस्ता रेखाहरू पनि मेरैजस्तै । युवावय निथ्रिएको प्रस्ट सङ्केत हुन् यी । आफूमात्र हो कि भन्ने भ्रममा पो रहेछु म ! आखिर तुरिँदै गएको चुरोटको ठुटाजस्तो न हो बाँकी जीवन ! असरल्ल छन् मैले गर्नुपर्ने कामहरू । के जीवन–यात्रामा वेग मार्न सकूँला त ? एउटा स्वाभाविक जिज्ञासा मेरो ।

जलपान गरियो । रात्रिभोज गरियो । र, सुरु गरियो रमाइलो ।

गीतबाटै प्रश्न, गीतबाटै सटीक उत्तर । बाफ् रे, यस्तो पो दोहोरी ! ¥याङठ्याङ मिलाइरहेका थिए– भुवन पाण्डे र लक्ष्मी कार्की ! गाउनमा त बोधराज भण्डारी पनि तगडा ! नेपाली गीत, सङ्गीतमा मौलिकता हराउँदै गइरहेकोले कला, संस्कृति र मौलिक परम्पराको जगेर्न गर्नु हाम्रो कर्तव्य पनि हो । शालीन र सौम्य थियो दोहोरी ।

कोही क्याम्पफायर गर्दै थिए स्विमिङ पूलको पल्लो छेउमा । कोही तस्वीर लिँदै झिलिमिली बत्तीको उज्यालोमा । उमङ्गपूर्ण नाच नाच्दै थिए– तेज गुरुङ, गोविन्द पन्त, टीका गुरुङ, ऋतु ग्याम्दाङ, नीमा डिकी शेर्पा र सरिता लामा । आफू त ताली बजाउनेमात्र हो । न नाच्न आउँछ, न गाउन नै ! तर मैले मज्जा लिन जानेको छु, अरूले गरेको रमाइलोमा ।

हामीले गरेको रमाइलोलाई हेरिरहेका थिए– अन्धकार रातको गुजुमुज्जे ताराले, मूलकोट लगायतका मौन पहाडले र स्वयम् सुनकोशीले ।
०००
भोलिपल्ट ।

मैले मस्तिष्कको ढोका उघारेर बाहिर निस्कँदा कलिलो घाम तापिरहेका थिए मूलकोट र परेवाडाँडाले । मूलकोटको फेदीमा बसेको बस्ती भएकोले ताज रिसोर्ट भएको ठाउँलाई पनि मूलकोट नै भनिँदोरहेछ । उचाइको हिसाबले मूलकोट त्यति अग्लो होइन तर गहिराइबाट हेर्दा आकाशमा टाँसिएझैँ लाग्ने ।

“सामान्य डाँडो हो मूलकोट । अङ्ग्रेजसित सिन्धुलीगढीमा लडाइँ हुँदा पृथ्वीनारायण शाहले थप हात हतियारको भण्डारण त्यहीँ गरेका थिए रे । हतियारको मूल भण्डार भएकोले ‘मूलकोत’ भन्दा भन्दै अपभ्रंश भएर ‘मूलकोट’ भनिन थालियो ।”

स्थानीय मनोज श्रेष्ठले बताए ।

उनी युवा उद्यमी । रसिला र हँसिला छन् । यस्तै हुनुपर्छ आतिथ्य सत्कार उद्योगका लागि । उनैले उघारेका थिए पहिलो पटक मूलकोटमा आतिथ्यको मूलढोका । ताज रिसोर्टको सञ्चालकमध्येका एक हुन् उनी ।

इतिहासको पनि थोरबहुत जानकारी रहेछ श्रेष्ठमा ।

उनले बताए– ‘नेपालमा जहानियाँ शासन छउन्जेल जङ्गबहादुरका सन्तानले परेवाडाँडामा बस्ती बसाएका थिए । तल औलो लाग्ने भएकाले डाँडामा दरबार बनाएर बसेका रे । उनीहरूलाई तलमाथि गर्न घोडाहरू थिए । दुनियाँलाई नोकर बनाएकै थिए । के पो थिएन होला र उनीहरूसित ! राणा शासनको अन्त्य भएपछि यो ठाउँ नै छाडेर गएछन् । उनीहरूले छाडेपछि दरबार भग्न हुँदै गएछ र त्यहाँ भएका काठपात ल्याएर हाम्रा बाउबाजेले घर बनाएका रे ।’

नेपालमा निषेधको राजनीति थियो र छ । राणा शासनको त कुरै गर्नु परेन । पञ्चायतमा दलहरू निषेध थिए । लोकतन्त्रमा राजा । प्रतिगमन गरेको अर्थमा राष्ट्र निर्माताको वंशलाई पाखा त लगायौँ । तर सयौँ छोटे राजाहरू जन्मे । ऊ वेला राणाका सन्तानले गर्ने मोजमस्ती अहिले नेता र तिनका सन्तानले गर्छन् । स्वेच्छाचारीको जन्म त हुँदोरहेछ नि त यो वा त्यो बहानामा ! गणतन्त्रले देश अग्रगमनमा जान्छ भन्ने कतै भ्रममा त छैनौँ हामी ? नत्र ‘प्रतिगमन– मुर्दावाद’को नारा किन घन्किरहेछन् अचेल यो सहरमा ? आफैँलाई प्रश्न तेस्र्याउँछु म ।

गाह्रो पो छ त यो देशको राजनीति बुझ्न ! धर्तीमा घामको रक्तिम आभा फिँजारिएको बेला म, भविश्वर शर्मा र कृष्ण दाहाललगायतका साथीहरू केही बेर सडकमा टहलियौँ । सडक छेउछाउका फूलहरूले बहार सजाउन खोज्दै थिए । लालीकिरणको अँगालोमा चल्मलाए हाम्रो छायाँ ।

स्थानीयको पसलमा एकेक कप चिया पिएर फर्कंदा नवराज दाहालले फ्याम ट्रिपको औचित्य बताउँदै थिए– “ठान्नुस्, यो तपाईंहरूकै होटल हो । काठमाडौँको नजिकको गन्तव्य हो । र्‍याफ्टिङ गरेर एक रात यतै बिताए पनि भयो । नभए बेलुकीसम्ममा काठमाण्डौँ फर्कन पनि सकिन्छ ।”

उनका कुरा सुन्दा मलाई लागिरहेथ्यो– ‘अलि पर गएर यात्राको भिन्दै स्वाद लिन पाइन्छ भने कति जानु त नगरकोट र धुलिखेलमात्र ! खासमा महङ्गो होइन यहाँको सयर । महङ्गै भए पनि के भो त ? आफ्नै साथीहरूको लगानी हो के रे ! घ्यू कहाँ पोखियो दालमा !’

“तपाईं सेल्फीडाँडा जाने कि र्‍याफ्टिङ ?” ब्रेकफास्टपछि बोधराजजीले मलाई सोधे ।

मनले त भन्दै थियो सेल्फीडाँडा पनि जाऊँ, सुनकोशीमा पनि चोबलिऊँ । लोभी मन न हो ! सेल्फीडाँडा गए र्‍याफ्टिङ छुट्छ । र्‍याफ्टिङ गए सेल्फीडाँडा । कस्तो फसाद ! आधा ज्यानलाई र्‍याफ्टिङ पठाएर आधा ज्यान लिएर सेल्फीडाँडा जान मिल्ने भए त्यसै गर्नेवाला थिएँ म । फेरि र्‍याफ्टिङ पनि गराउँछन् भन्ने थाहा पाएको भए त हाफ–पाइन्ट, टी–सर्ट र चप्पलविना किन आउँथेँ र म !

आखिर जहाँ गए पनि रमाइलै भइहाल्छ क्या रे !

मैले रोजेँ सेल्फीडाँडा ।

टीका गुरुङ, गोविन्द पन्त, लक्ष्मी कार्की, सुजना सिम्खडा र राज ढुङ्गाना लगायत हुइँकियौँ सेल्फीडाँडातर्फ । काठमाडौँ र तराई जोड्ने वैकल्पिक सडकमार्ग भएकोले बाक्लै थिए आ–आफ्नै रफ्तारमा गुडिरहेका सवारी साधनहरू । अक्करे भीरमा पुगेको छ सडक । नागबेली सडकमा गुड्दै पुगियो ऐनाडाँडा । यहीँबाट देखिन्छ तलतिरको बस्ती र निलो आकाश ।

ओहो ! पहराभरि टाँसिएका छन् ऐनैऐना । न गनिसाध्य न भनिसाध्य !

कसैले बाबुको नाममा टाँसेका छन् । कसैले आमाको नाममा । कसैले श्रीमती त कसैले श्रीमान्को नाममा । मैले आफ्नै प्रतिविम्ब देखेँ ऐनाडाँडाको ऐनामा र देखेँ, ऐनाडाँडा अगाडिका रुखा र सुख्खा डाँडाहरू । ऐनामा देख्दा यस्तो लाग्थ्यो– पानीको प्यासले छटपटाएका ती काकाकुल डाँडाहरू निहुरएिर सुनकोशी रिङ्खयाउन खोज्दैछन् ।

देवल स्थापना गरिएको छ सडकको कुनापट्टि । देवीको दर्शन गर्न र त्यही बहानामा तस्वीर लिन रोकिँदारहेछन् यात्रुहरू ।
मैले पुजारीसँग सम्वाद गर्न भ्याएँ–

“यो के को मन्दिर हो ?”
“सतीदेवी माताको ।”
सतीदेवी दक्षप्रजापतिकी पुत्री । भगवान् शिवकी पूर्व पत्नी हुन् सतीदेवी । हिन्दू धर्म ग्रन्थका अनुसार उनी एक पतिव्रता नारी । र, शक्तिको अर्को नाम पनि ।
“माताको बास पहिलेदेखि नै यही भित्तामा हो ?”
“होइन ।”
“कहाँ थियो त ?”
“पहिले तल थियो । माताले म यहाँ बस्दिनँ भनेपछि यहाँ स्थापना गरिएको । यहाँ स्थापना गरेर मातालाई ऐना, धागो, चुरा, पोते र फलफूल चढाउन थालेपछि दुर्घटना कम हुन थाल्यो । पहिले त धेरै नै दुर्घटना हुन्थ्यो नि !”

जहाँ सतीदेवीको बास हुन्छ, त्यहाँ महादेवको बास त हुने नै भयो । कुशेश्वर महादेव, मुकुटेश्वर महादेव र त्रिवेणी महादेवले समेत बास गरेको भूमि हो यो । अँ, वाल्मीकेश्वरी र खाँडादेवीको मन्दिर पनि यतैकतै छ भनेका थिए मित्र तेज जर्गामगरले ।

मूलकोटबाट नौ किलोमिटरमात्र हो । गाडीले एकैछिनमा पु¥यायो सेल्फीडाँडा ।

चलिरहेको छ मन्द वायु । सेल्फीडाँडाको आकाशमा फनफनी घुमेर स्वतन्त्र जीवन भोगिरहेछन् चिलहरू । ‘अतिथि देवो भवः’को मन्त्र जपिरहेझैँ लाग्छ रातमाटे डाँडाको चौपारीले ।

लमतन्न डाँडालाई दुई भागमा छुट्टयाएको छ बर्दिबास जाने सडकले । घामले लडिबुडी खेलिरहेको छ डाँडैभरि । डाँडाबाट निकै परसम्म देखिन्छ– महाभारत पर्वतका सुनौला शृङ्खला । तिनै पहाडसित अस्मिताको लडाइँ लडिरहेका छन् पहाडकै रङ बोकेका खैरा बुट्टयानहरूले । तल देखिन्छ निलो सुनकोशी । सुनकोशीकै बगरमा जोडिएको छ माझीगाउँ । प्रत्येक सौन्दर्यलाई तन्तनी पिउँछ मेरा प्यासी आँखाले । डाँडामा चलिरहेको न्यानो वायुमा अनुरक्त मेरो मन स्वच्छ सुनकोशीको सतहमा पुग्छ ।

नामै त सेल्फीडाँडा । यहाँसम्म आइपुगेर सेल्फी नलिए यात्राको औचित्य के ! प्रकृतिलाई पृष्ठभूमिमा राखेर सेल्फी लिन्छौँ गोविन्द, राजजी र म । सुजना, ऋतु, नीमा डिकी, लक्ष्मी, रीता र सङ्गीताजीहरू छुट्टै किसिमले फोटो सेसन चलाइरहेका छन् । सामरी, रामप्रसाद र जनार्दनजीहरू आफ्नै किसिमले आनन्द लिइरहेका छन् । प्राकृतिक दृश्यपान गर्ने र दृश्यहरूलाई यादगार राख्ने कायदा स्वभावअनुसार आ–आफ्नै ।

गाडीमा यात्रारत यात्रुहरू ओर्लेर केही क्षण खुट्टा तन्काउने ठाउँ हो– रातमाटे सेल्फीडाँडा । सडकको बायाँपट्टि स्थानीयहरूले व्यापार गरिरहेका छन्– पानी, बिस्कुट, चना र चाउचाउको । चाउचाउ र पानी किन्यो, खाएपछि बोत्तल र खोल चाहिँ फ्याँकिदियो । क्या मज्जा ! नेपाली यात्रु न परे !

त्यसैले त सडकको दायाँबायाँ फ्याँकिएका छन् बोत्तल र चाउचाउका खोलहरू । यात्राको उन्मादले फुरुङगिएको मन हठात् कुँडिन्छ यस्ता कुरुप दृश्यले र नराम्ररी बिझाइउँछन् मौन आँखा ।

“खास सेल्फीडाँडा त सिन्धुलीगढी नजिक पर्छ । तर यो पनि सेल्फीडाँडा नै हो– ‘रातमाटे सेल्फीडाँडा’ । भिडियो फिल्महरूको सुटिङ हुन्छ यहाँ ।”

मलाई खुसुक्क भने गाडीका गुरुजीले ।

उनले अगाडि भने– “सिन्धुलीगढी त टाढा छैन यहाँबाट । सत्र किलोमिटरमात्र हो ।

बिहान काठमाडौँबाट हिँडेका यात्रुहरू ताज रिसोर्टमा लन्च गरेर सुनकोशीमा र्‍याफ्टिङ गर्दै खुर्कोटसम्म जान सक्छन् । त्यही मेलोमा सिन्धुलीगढी हेरेर रात बिताउन मूलकोट नै फर्किन भ्याउँछन् । र, भोलिपल्ट माझीगाउँ घुमेर आरामले काठमाडौँ फर्कन सक्छन् ।”

सुनेको मात्र हो, देखेको छैन । चौध ढोका र छपन्न झ्याल भएको दुईतले आकर्षक दरबार थियो रे सिन्धुलीगढीमा । उनले ‘सिन्धुलीगढी’ भनेको सुन्दा मैले मनमनै गाइसकेको थिएँ उही चर्चित गीत–

‘सिन्धुलीगढी घुमेर हेर्दा
सुन्तली माई
कतिमा राम्रो दरबार
मार्‍यो नि मायाँले मार्‍यो……..’

सुनेको थिएँ– विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका डोयहरू काठमाडौँँमा लुटपाट गरेपछि बनेपा हुँदै सिन्धुलीगढीको बाटो भएर फर्केका थिए । फेरि विसं १४०६ बङ्गालका सुल्तान समशुद्धिन इलियासले काठमाडौँं ध्वस्त बनाएर फर्किंदा यही बाटो भएर फर्किएका थिए । पटकपटक काठमाडौँँ माथि आक्रमण हु्ँदा यही नाकाबाट शत्रुहरू आउने भएकोले काठमाडौँँका तत्कालीन शासकहरूले निगरानी राखेका थिए यो नाकालाई ।

राजनीतिक र ऐतिहासिक महत्व बोकेको स्थान हो– सिन्धुलीगढी । नेपाल–अङ्ग्रेज युद्धको एउटा जीवित दस्तावेज हो– सिन्धुलीगढी । नेपालले त्यो युद्ध हारेको भए हाम्रो पहिचान के हुन्थ्यो होला !
मेरो मनले भनिरहेको थियो– ‘वीरताको इतिहास बोकेर उभिएको सिन्धुलीगढी पुग्न पाएको भए…….!

 

ताजा अपडेट

खोजी गर्नुहोस