जेठ ३,काठमाडौँ । बैंकिङ प्रणालीमा पैसा थुप्रदै गएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो ।
अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा झिक्न क्रम बढाएको हो । केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ । यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा झिक्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।