वैशाख २४, काठमाडौं । गत महिनामा भारतको कास्मिरस्थित पहलगाम २६ जनाको मृत्यु हुने गरी भएको आक्रमणको जवाफ भन्दै भारतले गरेको सैन्य कारवाहीले दुई देश युद्धमा होमिएका छन् । गएराति भारतले पाकिस्तानको नौ स्थानलाई लक्षित गरी मिसइल हानेको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय हमलामा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको जनाएका छन् । चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति कडा जवाफ दिने चेतावनी दिदै उनले भारतले पाकिस्तानको सार्वभौमसत्तामाथि आक्रमण गरेको बताएका छन् ।
यता कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन जना भारतीयको पनि मृत्यु भएको छ । भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।
भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा पाकिस्तानका कम्तिमा ३० जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । पाकिस्तानले पनि पाँच भारतीय विमान खसालेको दाबी गरेको छ ।
यसैबीच दुई देश युद्धमा होमिएसँगै पाकिस्तानले राजधानी इस्लामाबाद, पंजाब प्रान्त र कश्मीरका शैक्षिक संस्थाहरू बन्द गरेको छ । यता भारतीय अधिकारीहरूले पनि भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
युद्ध चर्कदै गएपछि संयुक्त राष्ट्रले दुवै देशलाई अधिकतम संयमता अपनाउन भनेको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले ‘गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।
उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् । उनले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुने बताएका छन् ।
यसैबीच भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन् । उनले घटनालाई दुस्खद भन्दै दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
‘यो हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ’, उनले भने ।