वैशाख २४, काठमाडौं । भारतले गएराति एक सैन्य कारबाहीमा पाकिस्तानका ९ स्थानमा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाइएको छ ।
भारतीय रक्षामन्त्रीको कार्यालयले प्रकाशित आधिकारिक विज्ञप्तिमा भारतीय सशस्त्र बलले ‘̍अपरेसन सिन्दूर’ सुरु गरी भारतविरुद्ध आक्रमण योजना गर्ने केन्द्रहरू रहेका पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओजेके)का आतंकवादी अखडाहरूमा प्रहार गरेको बताएको छ ।
भारतीय आर्मीले भने पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ । भारतले यसलाई कश्मीरको पलगाममा २२ अप्रिलमा एक नेपालीसहित २६ पर्यटकमाथि भएको आक्रमणको जवाफी कारबाही भनेको छ ।
यता पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाउदै जवाफी आक्रमण गर्ने बताएको छ । पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै त्यसअनुसारको कदम चालिन् बताएको छ ।
पाकिस्तानी सञ्चार माध्यम पिटिभीले भारतका दुईवटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ । यसैबीच पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ । मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको उक्साहट भएको भन्दै कडा निन्दा गरेका छन् । उनले बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।