माघ २०,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको शुभारम्भ गर्न चितवनको भरतपुर पुगेका सामाजिक अभियन्ता धुर्मुस सुन्तलीको आइतबार भव्य स्वागत गरिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको शुभारम्भ गर्न गएका उनीहरुलाई भरतपुरको २४ कोठीबाट नेपाली झण्डा, बाजागाजासहित निर्माणस्थलमा लगिएको थियो । स्थानीय वासिन्दाले सडकमा आ आफ्ना घर अगाडि फूलसहित कलश र घडा राखेका थिए । स्थानीयले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लागिएको खुसी समेत व्यक्त गरे ।
सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १६ मा सडक विभागको ०६८–०८३ नम्वरको डोजरमा बसेर रंगशाला निर्माणको शुभारम्भ गरे । धुर्मस आफैंले डोजरमा बसी मैदानको माटो खनेका थिए ।
परियोजनास्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको शुभारम्भपछि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष धुर्मसले निर्धारित समयभन्दा अगाडि नै रंगशाला निर्माणको काम सकिने दावी गरे । ‘रंगशाला निर्माणस्थलमा भोलिदेखि नै साइट कार्यालय खोलेर काम सुरु हुन्छ, उपकरणसहित इन्जिनियरहरु यहीँ बसेर ग्रेडिङलगायतका काम गर्नुहुन्छ’ उनले भने, ‘६ महिनाअघि नै डीपीआरको काम सकिन्छ ।’
सुरु गरेको दुई वर्षभित्र निर्माणको काम सकिने लक्ष्य राखेको धुर्मसले बताए । रंगशाला बन्दैन कि भन्ने चिन्ता कसैले पनि नगर्न अपिल गर्दै उनले भने ‘हण्ड्रेड पर्सेन्ट बन्छ, नकारात्मक टिकाटिप्पणी गर्न आवश्यक छैन ।’ भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मात्रै नभएर खेलकुदका सबै गतिविधि गर्न मिल्ने गरी खेलकुदको हब बनाइने योजना रहेको धुर्मसले सुनाए ।
विश्वमा नै नागरिकस्तरबाट बनेको पहिलो रंगशालाका रुपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला रहने दावी धुर्मसको छ । सरकारलाई नै अभिभावक मानेर रंगशाला निर्माण गर्ने भन्दै धुर्मसले भने ‘सरकारभन्दा माथि हामी होइनौं, सबै जनताको साथपछि मात्रै यो परिकल्पना पूरा हुन्छ ।’
फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले नकारात्मक टिकाटिप्पणीको पछाडि नलागी रंगशाला निर्माणमा जुट्ने बताइन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको साझा मानकका रुपमा रंगशाला निर्माण गरिने घिमिरेको भनाइ छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सकारात्मक काम गर्दा सँगै विरोधका स्वरहरु पनि आउने भन्दै त्यसलाई बेवास्ता गर्दै अघि बढ्ने अठोट व्यक्त गरिन् । चितवनवासीका लागि गौरव र गरिमा मात्रै नभएर देशको गौरवका रुपमा गौत्तम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल रहने मेयर दाहालको धारणा छ ।