वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ आयोजना सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २७, शनिबार (६ घण्टा अघि)
  • ४२ पटक पढिएको
वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ आयोजना सुरु

वैशाख २७, सुर्खेत । वीरेन्द्रनगरमा आजदेखि ‘कर्णाली छोरी सम्मेलन–२०८२’ आयोजना हुँदैछ । श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा तीनदिने छोरी सम्मेलन हुन लागेको हो ।

प्रदेशमा आयोजना हुन लागेको छोरी सम्मेलन पहिलो भएको आयोजक श्री ज्योति फाउन्डेसनले बताएको छ । सम्मेलन वीरेन्द्रनगरस्थित शुभ होटलमा वैशाख २७, २८ र २९ गतेसम्म हुनेछ ।

आयोजक फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले सशक्तीकरण अभियानमार्फत कर्णालीका छोरीहरूलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउनका साथै कर्णालीका छोरीहरूको व्यक्तित्व विकासमा सघाउ पुर्‍याउनु सम्मेलनको उद्देश्य भएको बताइन् ।

प्रदेशका ७९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहने यो सम्मेलनमा स्थानीय तह तथा सीमान्तकृत समुदाय, लोपोन्मुख राउटे, राजी, वादी, बोटे समुदायबाट दुई सयजना छोरीहरूको सहभागिता रहनेछ ।

सम्मेलनका प्रत्येक दिन छोरीका आफ्ना कुरा राख्ने तथा प्रवचन, बहसजस्ता विशेष सत्रहरू चल्नेछन् । सम्मेलनमा ‘छोरीका मनका कुरा’ विशेष सत्र सञ्चालन हुनेछ । यो सत्रमा कर्णालीका छोरीहरूले आफ्ना भोगाइहरू प्रस्तुत गर्नेछन् ।

छोरीहरूका प्रतिभाहरू पनि यसै सम्मेलनमा प्रस्तुत गरिनेछ । ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट विश्लेषण गरिनेछ । सम्मेलनमा हुने बहसहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसँग सम्बन्धित हुने आयोजक श्री ज्योति फाउन्डेसनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस