विधेयकमाथि छलफल गर्न विज्ञ नियुक्ति गर्दै महिला तथा सामाजिक मामिला समिति

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ २१, शनिबार (५ घण्टा अघि)
  • ६४ पटक पढिएको
विधेयकमाथि छलफल गर्न विज्ञ नियुक्ति गर्दै महिला तथा सामाजिक मामिला समिति

असार २१, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरूमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरू माथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो ।

समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताए । त्यसका लागि समितिमा काशिराज दाहाल र माधव पौडेलको नाम प्रस्तावितसमेत भएको छ ।

तर समितिका सांसदहरूले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरू ज्ञाता नभएको भन्दै अन्य विज्ञहरु नियुक्ति गर्नु उचित हुने धारणा राखे । सभापति साहले सांसदहरूसँग विज्ञहरूको नाम भए दिन आग्रह गरेका छन् ।

‘समितिमा आउन लागेको दुई वटा विधेयकमाथि वृहत् छलफल गर्नुपर्ने भएकाले विज्ञहरू नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौँ । दीर्घकालीन हिसाबले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ’, उनले भने, ‘काशीराज दाहाल र माधव पौडेलको नाम आयो । समितिलाई आवश्यक पर्ने विज्ञहरू भए अरु पात्रको पनि नाम लिन सक्नुहुन्छ ।’

समितिले पारिश्रमिक दिएर नै समितिको लागि विज्ञ नियुक्ति गर्दा कानून झनै राम्रो निर्माण गर्न सकिने सांसदहरूको धारणा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस