असार २१, काभ्रे । बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार ४५ वर्षअघि निर्माण भएको उक्त पुल गएराति भाँचिएको हो ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । यही बाटो प्रयोग गरी राजधानी आउने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतया रोक लगाइएको छ ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।
जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।