महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न
सन्जिब दुलाल 

बैशाख १८,काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६ जनाको संस्थाले निःशुल्क शल्यक्रिया भएको हो । वैशाख ८ गते शनिवार आयोजित शिविरबाट आँखाका शल्यक्रिया गर्नु पर्ने ६६ जनाको काठमाडौँको फूलबारी गुम्बामा १७ गते निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो ।

पालिका र गोकुलेको विकट स्थानमा भएको आँखा शिविरमा ५२५ जनाको आँखा परीक्षण गरिएको खुड्किलो नेपालकी अध्यक्ष तारा सम्पाङ राईले जानकारी दिइन् । उनका अनुसार विकट गाउँमा स्वास्थ्य पहुँच कम, आफ्नो उपचार गराउन पनि बिरामी सदरमुकामसम्म आउनु पर्ने तथा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित रहेका बिरामीहरूलाई संस्थाको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिएको हो ।

शिविरमा २५५ जनालाई निःशुल्क चस्मा वितरण समेत गरिएको राईले जानकारी दिइन् । गाउँमा २०७२ पछाडि पहिलो पटक आँखा शिविर सञ्चालन भई आँखाको स्कृनिङ, निःशुल्क औषधी, निःशुल्क चस्मा वितरण तथा शल्यक्रिया समेत हुँदा गाउँ बासी निकै खुसी भएका थिए ।
गाउँमा मोतिविन्दुका बिरामी पत्ता लगाउन तथा उनीहरूको उपचारका लागि नै यो शिविरको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । शिविरमा १५ वर्ष देखि ८० वर्ष सम्मका बिरामीको परीक्षण भएको थियो ।

शिविर काभ्रे जिल्ला समन्वय समिति र महाभारत गाउँपालिकाको सहकार्य तथा प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताले गरेको थियो ।
आँखा शिविरमा आँखा परीक्षणका लागि ६ जना प्राविधिक टोली पालिका पुगेको थियो । गाउँमा अझै पनि धेरै आँखाका बिरामी रहेको बताउँदै राई भन्नुहुन्छ आँखा पनि चेक जाँच गराउनुपर्छ भन्ने गाउँमा चेतनाको अभाव रहेको आफूहरूले पाएको बताईन् ।
मोतिविन्दुको शल्यक्रिया पछाडि आँखाको हेरचाहको विषयमा समेत बिरामीलाई संस्थाले निःशुल्क परामर्श दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस