जेठ ४, काठमाण्डौँ । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ । मिति २०८१ साल जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ ।
नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पु¥याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ ।