जेठ २२, काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख दोस्रो हप्तादेखि लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि कैलाश मानसरोवर दर्शनका लागि आन्तरिक पर्यटकको संख्या बढेको छ ।
कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ ।
यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । अहिले भने त्यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ तथा पर्यटकीय क्षेत्र समेत भए पनि प्रचारप्रसार नहुँदा पर्यटकको चहलपह बढ्न सकेको छैन ।